Dhulikhel Eco Banner new

जनकपुरधाममा ३ अर्ब ८२ करोड ८३ लाख ७८ हजार राजश्व संकलन

4.03K
shares

काठमाडौं, ९ साउन । आन्तरिक राजश्व कार्यालय जनकपुरधामले आर्थिक वर्ष २०८०/२०८१  मा ३ अर्ब ८२ करोड ८३ लाख ७८ हजार रुपैयाँ राजश्व संकलन गरेको छ ।

कार्यालयलाई सो आर्थिक वर्षमा ४ अर्ब ४६ करोड ६३ लाख ९३ हजार राजश्व संकलन गर्ने लक्ष्य तोकिएकोमा लक्ष्यभन्दा १४.२८ प्रतिशत कम राजश्व संकलन भएको कार्यालयका प्रमुख कर अधिकृत किशोर बर्तौलाले जानकारी दिए ।

अहिले मुलुकमा देखिएको आर्थिक मन्दीका कारणले यस क्षेत्रको व्यापार व्यवसायमा देखिएकाले राजश्व संकलनमा समेत कमी आएको जानकारी दिँदै प्रमुख कर अधिकृत बर्तौलाले तर अन्तः शुल्कतर्फ बढी राजश्व संकलन भएको बताए ।

अन्तः शुल्कतर्फ लक्ष्यको १००.८० प्रतिशत राजश्व संकलन भएको आन्तरिक राजश्व कार्यालय जनकपुरधामले जनाएको छ । अन्तः शुल्कतर्फ १ अर्ब ५३ करोड ४२ लाख ८७ हजार लक्ष्य लिएकोमा १ अर्ब ५४ करोड ६६ लाख २१ हजार राजश्व संकलन भएको हो ।

आयकरबाट १ अर्ब १९ करोड ३८ लाख ७१ हजार लक्ष्यको ८२.०७ प्रतिशत राजश्व संकलन मात्र भएको हो । मूल्य अभिवृद्धि करतर्फ १ अर्ब ३० करोड १५ लाख ५५ हजार असुल गर्ने लक्ष्य लिएकोमा कार्यालयले त्यसको ७५.१३ प्रतिशत अर्थात् ९७ करोड ७८ लाख ६२ हजार रुपैयाँ राजश्व असुल गरेको हो ।

भाडा आयकरतर्फ लक्ष्यको ५५।०१ प्रतिशत, व्याज तर्फ ६४.८६ प्रतिशत अर्थात् ७ करोड २० लाख ७४ हजार रुपैयाँ राजश्व संकलन भएको हो । स्वास्थ्य सेवातर्फ ११ लाख ३ हजार लक्ष्य रहेकोमा त्यसको १३८.८२ प्रतिशत अर्थात् १५ लाख ३१ हजार राजश्व संकलन भएको हो । यस्तै, शिक्षातर्फ १ लाख ६८ हजार र अन्यतर्फ १२ लाख २६ हजार राजश्व संकलन  भएको छ ।

आन्तरिक राजश्व कार्यालय जनकपुरधाममा धनुषा, महोत्तरी, सर्लाही र सिन्धुली जिल्लाको कर संकलन हुने गरेको छ ।