Dhulikhel Eco Banner new

साउन र भदौमा करिब १३ अर्ब वैदेशिक लगानी प्रतिबद्धता

2.7K
shares

काठमाडौं । चालु आर्थिक वर्षको साउन र भदौमा नेपालमा करिब १३ अर्ब रुपैयाँ प्रत्यक्ष वैदेशिक लगानी प्रतिबद्धता आएको छ । उद्योग विभागका अनुसार चालु आर्थिक वर्षको साउन र भदौमा १२ अर्ब ९८ करोड रुपैयाँबराबरको वैदेशिक लगानी प्रतिबद्धता आएको हो।

गत आर्थिक वर्षको साउन र भदौमा १४ अर्ब ६२ करोड रुपैयाँ वैदेशिक लगानी प्रतिबद्धता आएको थियो । यो गत आर्थिक वर्षको यही अवधिसम्मको तुलनामा ११.२० प्रतिशतले कम हो।

विभाग अनुसार साउनमा ९ अर्ब १५ करोड २५ लाख र भदौमा ३ अर्ब ८३ करोड २४ लाख रुपैयाँ प्रतिबद्धता आएको छ। गत आर्थिक वर्षको साउनमा ११ अर्ब ९३ करोड र भदौमा २ अर्ब ६९ करोड रुपैयाँ लगानी प्रतिबद्धता आएको थियो ।

अधिकांश वैदेशिक लगानी प्रतिबता साना उद्योगमा आएको छ। साउन र भदौमा ठूलो लगानीमा २ वटा उद्योगमात्र दर्ता भएका छन् भने साना लगानीका ९५ वटा उद्योग दर्ता भएको विभागले जनाएको छ। मझौला उद्योग दर्ता भएका छैनन्।

वैदेशिक लगानी प्रतिबद्धता पर्यटन क्षेत्रमा बढी केन्द्रित रहेको छ। साउन र भदौमा पर्यटन क्षेत्रका कुल ७१ वटा उद्योग दर्ता भएका छन्। यो कुल प्रतिबद्धताको ७३ प्रतिशत हिस्सा हो । दोस्रोमा सेवा क्षेत्र परेको छ। यस क्षेत्रमामा १५ उद्योग दर्ता भएका छन्। जुन कुल प्रतिबद्धताको १६ प्रतिशत हिस्सा हो।यसैगरी उत्पादनमा ६, सूचना प्रविधिमा ३ वटा र कृषिमा २ वटा उद्योग दर्ता भएका छन्।