Dhulikhel Eco Banner new

राजस्व संकलनमा थप मेहनत गर्न कर्मचारीलाई अर्थमन्त्रीको निर्देशन

2.51K
shares

काठमाडौं, २१ कात्तिक । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले राजस्व संकलनमा थप मेहनत गर्न कर्मचारीलाई निर्देशन दिएका छन् ।

अर्थ मन्त्रालयका सचिव र विभागीय प्रमुखहरूको बैठकमा अर्थमन्त्री पौडेलले औसतभन्दा माथि उठेर काम गर्न र मातहतका कर्मचारीलाई काममा लगाउन निर्देशन दिएका हुन् ।

सामान्य अवस्थाको कामले नतिजा पनि सामान्य आउने उल्लेख गर्दै अर्थमन्त्री पौडेलले गत सालको यही अवधिको तुलनामा १३ प्रतिशत राजस्व वृद्धिमा चित्त बुझाएर बस्ने अवस्था नरहेको बताए ।

संविधान र राष्ट्रको हितलाई ध्यान दिइ कानुन अनुसार करदातासँग राजस्व संकलन संकलन गर्नुपर्ने धारणा व्यक्त गर्दै अर्थमन्त्री पौडेलले समस्याहरुलाई तत्काल सम्बोधन गर्न पनि निर्देशन दिए ।

राजस्व चुहावट नियन्त्रणका लागि सुरक्षाकर्मी लगायत अन्तर निकायहरुबीच समन्वय गरी काम गर्न पनि निर्देशन दिए । उनले राजस्व संकलनमा कमजोरी गर्नेलाई छुट नदिन र ठाउँका ठाउँ एक्सन लिन पनि निर्देशन दिए ।

अर्थमन्त्री पौडेलले राजस्व संकलनका लागि नीतिगत, संरचनागत र प्रकृयागत सुधारका लागि नेतृत्वले साथ दिने बताए ।

बैठकमा अर्थ सचिव, राजस्व सचिव, राजस्व महाशाखा प्रमुख, भन्सार विभागका महानिर्देशक, आन्तरिक राजस्व विभागका महानिर्देशक लगायतको उपस्थिति थियो ।