चार महिनामा १४२ देशसँग ५ खर्ब ६६ अर्बको व्यापार
वि.सं.२०८१ मंसिर ७ शुक्रवार १६:१७
shares

काठमाडौं, ७ मंसिर । नेपालले आर्थिक वर्ष २०८०/८१ को चार महिनामा (साउनदेखि कात्तिकसम्म) ५ खर्ब ६६ अर्ब बराबरको व्यापार गरेको छ । नेपालले १४२ मुलुकसँग ५ खर्ब ६६ अर्ब रुपैयाँ बराबरको व्यापार गरेको हो ।
५ खर्बको १३ अर्बको मालवस्तु आयात भएको छ । सोही अवधिमा ५२ अर्ब ६७ करोड रुपैयाँ बराबरको निर्यात भएको छ । आयात र निर्यातको यो आकार अघिल्लो वर्षको भन्दा क्रमशः ०.१७ र ४.१६ प्रतिशत धेरै हो ।
औषधि ९ अर्ब ९७ करोड, सनफ्लावरको तेल ९ अर्ब ६० करोड, युरिया ९ अर्ब ५९ करोड, सोयाबिन तेल ७ अर्ब २१ करोड तथा हवाइ इन्धन ६ अर्ब ५५ करोड रुपैयाँ बराबरको आयात भएको छ ।
त्यस्तै, यो अवधिमा ५० किलोवाटसम्मको १०५० र ५१ देखि १०० किलोवाटसम्मका २११५ वटा, १०० देखि २०० किलोवाटसम्मका ३१६ वटा गाडी नेपाल भित्रिएका छन् । यसका लागि ६ अर्ब ३१ करोड रुपैयाँ खर्च भएको भन्सार विभागले जनाएको छ ।
यो अवधिमा २९ अर्ब ४ करोडको डिजेल, २१ अर्ब ५६ करोडको पेट्रोल, एलपीजी ग्यास १८ अर्ब ८५ करोड, स्पञ्ज आइरन १५ अर्ब ९६ करोड, मोबाइल १३ अर्ब ४० करोड, प्लेट आइरन १२ अर्ब ८८ करोड आयात भएको छ ।
कार्पेट ३ अर्ब ६० करोड, सोयाबिन तेल ३ अर्ब ४१ करोड, चिया २ अर्ब २१ करोड, अलैँची १ अर्ब ९० करोड, पस्मिना १ अर्ब ८६ करोड बराबरको निर्यात भएको छ ।
यो अवधिमा व्यापार भएका मुलुकमध्ये ११२ देशसँग व्यापार नोक्सानमा रहेको छ । बाँकी ३० देशसँग मात्रै नेपालको व्यापार नाफामा रहेको देखिन्छ । व्यापार नाफा हुने देशमा पहिलो नम्बरमा अफगानिस्तान रहेको छ । त्यस्तै, डेनमार्क, रसिया, अस्ट्रिया, मालदिभ्स लगायत देशमा पनि व्यापारमा नाफा देखिएको छ ।
उता भारत, चीन, युक्रेन, अर्जेन्टिना, अस्ट्रेलिया, इन्डोनेसिया, मलेसिया, कतार लगायत देशहरू सबैभन्दा धेरै व्यापार नोक्सानी भएका मुलुकको सूचीमा क्रमशः छन् ।

















