सात महिनामा ९८८ अर्बको आयात, १२७ अर्बको निर्यात
वि.सं.२०८१ फागुन ८ बिहीवार १४:३३
shares

काठमाडौं, ८ फागुन । चालु आर्थिक वर्षको सात महिनामा नेपालका विभिन्न भन्सार नाकाबाट कुल ९८८ अर्ब ५८ करोड ७७ लाख रुपैयाँ बराबरको वस्तु आयात गरिएको छ । सोही अवधिमा १२७ अर्ब २० करोड ४८ लाख रुपैयाँ बराबरको वस्तु निर्यात भएको भन्सार विभागको तथ्यांकले देखाएको हो ।
भन्सार नाका आधारमा सबैभन्दा ठूलो आयात वीरगञ्ज नाकाबाट भएको छ, जहाँबाट ३३४ अर्ब ६२ करोड ३१ लाख रुपैयाँ बराबरको वस्तु आयात गरिएको छ। यो कुल आयातको ३३.८५ प्रतिशत हो। वीरगञ्जबाट ४० अर्ब ३४ करोड ५९ लाख रुपैयाँको निर्यात पनि भएको छ, जुन कुल निर्यातको ३१.७२ प्रतिशत हो।
त्यस्तै, दोस्रो स्थानमा रहेको भैरहवा भन्सार नाकाबाट १४४ अर्ब ७४ करोड ७८ लाख रुपैयाँ बराबरको वस्तु आयात भएको छ भने ९ अर्ब ६५ करोड ५७ लाख रुपैयाँको निर्यात भएको छ।
बिराटनगर भन्सार नाका तेस्रो स्थानमा रहेको छ । जहाँ ११२ अर्ब १७ करोड २८ लाख रुपैयाँ बराबरको वस्तु आयात र ३० अर्ब ८३ करोड ४१ लाख रुपैयाँ बराबरको वस्तु निर्यात भएको छ।
अन्य भन्सार नाकाहरू जस्तै चोभार, जनकपुर, महेशपुर, राजविराज, सुनसरी, सुथौली, र तातोपानीबाट भने निर्यात शून्य रहेको देखिन्छ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयबाट ८२ अर्ब २४ करोड २७ लाख रुपैयाँको आयात र २० अर्ब ३४ करोड ७२ लाख रुपैयाँको निर्यात भएको छ।
चीनसँगको प्रमुख व्यापारिक नाका रसुवागढीबाट ४७ अर्ब ९० करोड ९ लाख रुपैयाँ बराबरको वस्तु आयात र १ अर्ब ६६ करोड ५८ लाख रुपैयाँ बराबरको वस्तु निर्यात भएको छ।
यसरी, नेपालका विभिन्न भन्सार नाकाबाट आयात र निर्यातको वृद्धि हेर्दा व्यापारिक गतिविधि अझै तीव्र रहेको देखिन्छ।



















