Dhulikhel Eco Banner new

चुनावका लागि १० हजार लठ्ठी खरिद गर्दै प्रहरी

5.79K
shares

काठमाडौं, १४ भदौ । आगामी मंसिर ४ गते हुने संघीय र प्रदेश सभा चुनावको सुरक्षाका लागि तयारी थालेको छ । प्रहरीले सुरक्षाका लागि आवश्यक पर्ने सामग्री खरिदका लागि अर्थमन्त्रालयले बजेटको पनि व्यवस्था गरेको छ ।

जसअनुसार प्रहरीले आगामी चुनावका लागि १० हजार थान लठ्ठी खरिद गर्ने भएको छ । प्रहरीले प्रतिलठ्ठी २०० रुपैयाँका दरले १० हजार लठ्ठी खरिद गर्ने भएको हो । लठ्ठी खरिदका लागि २० लाख रुपैयाँ खर्च हुने छ ।

प्रहरीलाई आउँदो चुनावका लागि ७ अर्ब ९९ करोड ४९ लाख दुई सय रुपैयाँ बजेट प्राप्त भएको छ । सोहीबाट सबै बन्दोबस्त गुर्न पर्ने हुन्छ । सो रकम म्यादी प्रहरीका लागि समेत हो । प्राप्त बजेट नेपाल प्रहरीका लागि १ अर्ब २३ करोड ५० लाख ९९ हजार दुई सय तथा म्यादी प्रहरीका लागि ५ अर्ब ८६ करोड ३९ लाख ५० हजार रुपैयाँ बजेट छुट्याइएको छ । यो बजेट अर्थ मन्त्रालयबाट स्वीकृत भएर आएको प्रहरी प्रधान कार्यालयको प्रबन्ध निर्देशनालयका प्रहरी नायब महानिरीक्षक (डीआईजी) दीपक थापाले जानकारी दिए ।

आउँदो चुनावका लागि ७१ हजार ६ सय ९३ प्रहरी कर्मचारी र एक लाख १५ हजार म्यादी प्रहरी परिचालन गरिने भएको छ । यस पटक पालिका चुनावमा भन्दा २५ हजार बढी नेपाल प्रहरी तथा म्यादी प्रहरी थप गरिने भएको हो । जसमा १५ हजार म्यादी प्रहरी थपिने छन् । चुनावको समयमा प्रहरी कर्मचारीतर्फ जिल्लाभित्र खटिने प्रहरीले सात दिनका लागि र बाहिर जिल्लामा खटिने प्रहरीले १३ दिनका लागि दैनिक भ्रमण भत्ता पाउनेछन् ।

नेपाल प्रहरीले चुनाव प्रयोजनार्थ १८० वटा गाडी किन्ने भएको छ । प्रहरीले चुनावका लागि कुल १ हजार ४९४ वटा गाडी माग गरेको थियो । अर्थ मत्रालयबाट गाडी खरिदका लागि ७५ करोड रुपैयाँ बजेट स्वीकृत भएसँगै प्रहरीले गाडी खरिदको तयारी थालेको छ । प्रहरीले बढीमा ५० लाख रुपैयाँसम्मका गाडी खरिद गर्न पाउनेछ । त्यही आधारमा १८० वटा गाडी खरिद गर्न लागिएको डीआईजी थापाले बताए ।

चुनावमा कुल दुई हजार ७९५ वटा गाडी परिचालन गर्ने योजना प्रहरी प्रधान कार्यालयको छ । चुनावको १२ दिनका लागि एक हजार ५० वटा गाडी भाडामा लिन स्वीकृत प्राप्त भएको छ । भाडाका लागि प्रतिदिन १० हजार रुपैयाँ छुट्याइएको छ । बाँकी अपुग गाडी मर्मत गरेर चलाइनेछ । सबै गाडी चुनाव सुरक्षा योजनाअनुसार परिचालन हुने भएकाले थप–घट हुनसक्ने थापाले जानकारी दिए । –रासस