काठमाडौंमा एमालेको एक सिट, कांग्रेस ५ र राष्ट्रिय स्वतन्त्र पार्टी ४ ठाउँमा विजयी
वि.सं.२०७९ मंसिर ७ बुधवार १०:०७
shares

काठमाडौं, ७ मंसिर । देशको राजधानी रहेको र सबैभन्दा बढी क्षेत्र रहेको काठमाडौंको मतपरिणाम सार्वजनिक भएको छ । १० वटा निर्वाचन क्षेत्र रहेको काठमाडौंमा नेकपा एमाले निकै कमजोर देखिएको छ । उसले काठमाडौंका १० क्षेत्र मध्ये १ क्षेत्रमा मात्रै जित हाँसिल गरेको छ ।
नेपाली कांग्रेसले ५ क्षेत्रमा जित निकाल्दा राष्ट्रिय स्वतन्त्र पार्टीले ४ क्षेत्रमा जित दर्ता गरेको छ । यो पटकको चुनावमा नेपाली कांग्रेसबाट क्षेत्र नम्बर १ मा प्रकाशमान सिंह, ३ मा सन्तोष चालिसे, ४ मा गगन थापा, ५ मा प्रदीप पौडेल र १० मा राजेन्द्र केसी विजयी भएका छन् । काठमाडौंमा कांग्रेस उम्मेदवार रहेका क्षेत्रमध्ये ६ नम्बरमा भीमसेनदास प्रधान मात्र पराजित भएका छन् ।
काठमाडौंमा घण्टीको उदयले सबैभन्दा ठुलो धक्का नेकपा एमालेले व्यहोरेको छ । २०७४ सालको निर्वाचनमा काठमाडौंका १० मध्ये ६ सीटमा जितेको एमाले यस पटक एक सीटमा खुम्चिएको छ । काठमाडौं ९ मा कृष्णगोपाल श्रेष्ठबाहेक एमालेका अरू सबै उम्मेदवार पराजित भएका छन् । काठमाडौं १ बाहेक सबै क्षेत्रमा कांग्रेस र स्वतन्त्र पार्टीका उम्मेदवारको मुख्य प्रतिस्पर्धी एमाले बनेको छ ।
त्यस्तै पहिलो पटक चुनावी मैदानमा गएको राष्ट्रिय स्वतन्त्र पार्टीले काठमाडौंका ४ सीट जितेर सानदार प्रदर्शन गरेको छ । काठमाडौं २ मा सोबिता गौतम, क्षेत्र नम्बर ६ मा शिशिर खनाल, ७ मा गणेश पराजुली र ८ मा विराजभक्त श्रेष्ठले जित निकालेका छन् ।



















