Dhulikhel Eco Banner new

पाल्पा २ (१) मा कांग्रेसका राना पुन : निर्वाचित

3.94K
shares

काठमाडौं, ८ मंसिर । पाल्पा क्षेत्र नं २ १० मा नेपाली कांग्रेसका वीरबहादुर राना विजयी भएका छन् । रानाले १६ हजार ३९ मतसहित विजयी भएका हुन् । प्रतिस्पर्धी नेकपा एमालेका परशुराम भट्टराईलाई दुई हजार ७५ मतान्तरले पराजित गर्दै प्रदेशसभा सदस्यमा राना विजयी भएका छन् । एमालेका भट्टराईले १३ हजार नौ सय ६४ मत पाएका छन् ।

रानाले मतदान गरी विजयी गराउने सबै मतदातालाई धन्यवाद दिँदै संविधानको रक्षा गर्दै विधिको शासन, सुशासन कायम राख्ने, जनताको हर समस्या समाधानमा आफूले तल्लिन भएर काम गर्ने प्रतिबद्धता जनाएका छन् । लुम्बिनी प्रदेशको निवर्तमान ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्रीसमेत रहेका राना दुई पटक नेपाली कांग्रेस पाल्पाको पार्टी सभापति भएर काम गरिसकेका छन् ।

नेपाल विद्यार्थी सङ्घ हुँदै वडा तहबाट जिम्मेवारी निभाउँदै आएका प्रखर वक्ताका रुपमा परिचित रानाले पार्टीलाई विधि, पद्धति, नीति नियम तथा अनुशासनको लाईनमा हिँडाउन लागिपर्ने छबि बनाएका नेताका रुपमा चिनिन्छन् ।

प्रदेशसभा सदस्य निर्वाचनमा मङ्गोल नेशनल अर्गनाइजेशनका लक्ष्मण गाहाले एक हजार पाँच सय ९७, राष्ट्रिय प्रजातन्त्र पार्टीका राजु गैरेले एक हजार पाँच सय २०, राष्ट्रिय जनमुक्ति पार्टीका टेकबहादुर रानामगरले तीन सय ५१, जनता समाजवादी पार्टी नेपालका खिकबहादुर रेश्मी मगरले एक सय ६३ र नेपाल मजदुर किसान पार्टीका माधव अधिकारीले ७७ मत प्राप्त गरेका छन् ।