Dhulikhel Eco Banner new

उर्जाको विकास र विस्तारका लागि नितीगत सुधारमा ढिलाइ गर्नुहुँदैन : अध्यक्ष ढकाल

5.46K
shares

काठमाडौं, ३२ जेठ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले उर्जा विकास र विस्तारका लागि नितिगत सुधारमा अलिकति पनि ढिलाइ गर्न नहुने बताएका छन्। बिहीबार स्वतन्त्र उर्जा उत्पादक संघ नेपाल (इप्पान)को २१ औं वार्षिक साधारणसभा कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ढकालले यस्तो बताएका हुन्।

‘उर्जाको विकास र विस्तारका लागि नेपालको नितिगत सुधारको विषयलाई अलिकति पनि ढिला गर्नुहुदैन,’अध्यक्ष ढकालले भने, ‘उर्जा मुलुकको अर्थतन्त्र बलियो बनाउने प्रमुख विषय भएकाले यसलाई सरकारले प्राथमिकतामा राख्नुपर्छ।’

उनले भारत संगको उर्जा सम्झौताले नेपालको उर्जा विकासमा थप सहयोग गरेको बताए। ‘अहिले हाम्रोमा ७ हजार मेगावाट कन्ट्रकसनमा गएको भन्ने कुरा छ, यसमा हालै प्रधानमन्त्रीको भारत भ्रमणमा भएको सम्झौताले थप योगदान गर्ने देखिन्छ,’ उनले भने, ‘प्रधानमन्त्रीको भारत भ्रमणको समयमा भएको कुराकानी र सम्झौताले नेपालको उर्जामा लगानी गर्न थप बल पुगेको देखिन्छ।’
त्यस्तै कार्यक्रममा सिएनाई अध्यक्ष विष्णु अग्रवालले अर्थतन्त्रको समस्याको समाधान गर्न लगानी ल्याउन आवश्यक भएको बताए ।

‘नेपालको अर्थतन्त्रको क्षेत्र सुधार गर्ने प्रमुख र एकमात्र क्षेत्र भनेको उर्जा क्षेत्र हो। आज कम्तिमा १० हजार ५ सय मेगावाट उर्जा उत्पादनका लागि नेपालमा पिपिए सम्झौताका लागि आवेदन गरेका छौँ। जुन निकै राम्रो विषय हो’ अग्रवालले भने।

उनले अहिले भारतमा भएको १० हजार मेगावाटको उर्जा निर्यात अर्ने विषयमा कम्तिमा ७/८ हजार मेगावाट मात्रै उत्पादन गरेर निर्यात गर्न सकेको खन्डमा पनि त्यसले धेरै सहयोग गर्ने बताए।