Dhulikhel Eco Banner new

दलीय सिण्डीकेट तोड़न तेस्रो जनआन्दोलन आवश्यक : प्रभु साह

2.29K
shares

काठमाडौं, २० साउन । आम जनता पार्टी (आजपा)का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले नेपाली कांग्रेस र नेकपा (एमाले)को दुई दलीय सिण्डीकेटले लोकतन्त्र मात्रै नभई दलतन्त्र पनि खतरामा परेको टिप्पणी गरेका छन् । उनले एमाले र कांग्रेसको दुई दलीय सिण्डीकेट तोड्न अब आईटी आर्मी अगाडी आउँनुपर्ने निर्देशन समेत दिएको हो ।

आजपा निकटको आईटी आर्मीको काठमाडौं उपत्यका भेलाको तयारी बैठकलाई आज पार्टी केन्द्रीय कार्यालय काठमाडौंमा सम्बोधन गर्दै अध्यक्ष साहले जनताको शासन स्थापित गर्न र लोकतन्त्र जोगाउँनका लागि आईटी आर्मी फ्रन्टलाईनमा आउँनुपर्ने आवश्यक रहेको बताए । दलीय सिण्डीकेट तोड्नका लागि तेस्रो जनआन्दोलन आवश्यक रहेको उनले जिकिर गरेका छन् ।

‘एक त देशमा लोकतन्त्र नै छैन् । लोकतन्त्र देखाउँने दाँत मात्रै छ । दलतन्त्र रहेको अवस्थामा यो एमाले र कांग्रेसको दुई दलीय सिण्डीकेटले अब लोकतन्त्रसंगै दलतन्त्र समेत खतरामा परेको छ । यसले मुलुकमा थप संकटको संकेत गरेको छ’ आजपा अध्यक्ष साहले भने, ‘लोकतन्त्रको रक्षाका लागि अहिले आईटी आर्मीको महत्वपूर्ण भुमिकाको आवश्यकता परेको छ । यस्तो अवस्थामा आईटी आर्मी फ्रन्टलाईनमा आएर प्रतिकार गर्नुपर्छ । जस्तालाई त्यस्तै जवाफ दिनुपर्छ ।’

लोकतन्त्र बचाउँनका लागि कांग्रेस र एमालेसंग जनताले आफ्नो भोट फिर्ता माग्नुपर्ने समेत उनले बताए । आम निर्वाचनमा छुटाछुटै गठबन्धनबाट सहभागि भएका कांग्रेस र एमालेले जनतासंग भोट माग्ने बेलामा एउटा प्रतिबद्धता गरेको तर उनीहरु आफ्नै प्रतिबद्धता विपरित सत्तास्वार्थमा डुबेकाले जनताले आफ्नो भोट फिर्ता माग्नुपर्ने उनले बताए ।

‘के भोट माग्ने बेलामा एमालेले कांग्रेसको नेतृत्वमा सरकार बनाउँछौ भन्या थियो ? के कांग्रेसले एमालेको नेतृत्वमा सरकार बनाउँछु भन्या थियो ? तर आज के भईरहेको छ, संघदेखी प्रदेशसम्म उनीहरुले आफ्नै प्रतिबद्धता विपरिति काम गरिरहेका छन् । यस्तो अवस्थामा उनीहरुले जनताको भोट फिर्ता गर्नुपर्दैन् ?’ साहले प्रश्न गरे ।

अहिलेको लुटकारी व्यवस्थाले जनता निराश, आजित भएको बताउँदै उनले आम जनताको शासन स्थापित गर्नका लागि आईटी आर्मी लाग्नुपर्ने बताए । उनले कांग्रेस र एमालेको गठबन्धनले भ्रष्टाचारीलाई संरक्षण गर्दै मुलुकलाई लुटने काममा लागेको आरोप लगाए ।

बिभिन्न ठुल्ला भ्रष्टाचारका काण्डमा कांग्रेस र एमालेकै शीर्ष नेताहरुको संलग्नता रहेको बताउँदै त्यस्तालाई कारवाही नगरिएसम्म मुलुक नबन्ने उनले बताए । भ्रष्टाचारीलाई कारवाही गर्ने अख्तियार दुरुपयोग अनुसन्धान आयोग, प्रहरी, प्रशासन सहितका निकाय उही भ्रष्टाचाारीहरुले नियुक्त गर्ने कारिन्दा भएको बताउँदै त्यस्ताले भ्रष्टाचारीलाई कारवाही नगरेकाले अब आम जनताले भ्रष्टाचारीलाई जहाँ देख्यो त्यही कारवाही गर्नुपर्ने बताए ।

‘तपाई हामी सबैलाई थाहा छ । ठुलठुल्ला भ्रष्टाचारका काण्डमा उही कांग्रेस, एमाले सहितका दलका नेताहरुको संलग्नता रहेको देखिन्छ । तर उनीहरु कारवाहीमा पर्दैन् । मिलेरै देश लुटेका छन् । नेपालमा लुटेर विदेशमा जम्मा गरेका छन्’ साहले भने, ‘भ्रष्टाचारीलाई कारवाही गर्ने निकायमा उनीहरुले नै नियुक्त गरेका कारिन्दाहरु छन् । जबसम्म यस्ता भ्रष्टाचारीलाई कारवाही हुदैन्, तबसम्म मुलुक बन्दैबन्दैन् । त्यसैले भ्रष्टाचारीलाई तपाईले जहाँ देख्नुहुन्छ, त्यही कारवाही गर्नुस् । किनभने आईटी आर्मी देश र जनताको पक्षमा काम गर्ने वास्तविक सिपाही हो ।’

नेपालमा भ्रष्ट एवं भगौडा वर्गलाई पक्षपोषण गर्ने लुटकारी दलाल दलतन्त्रले आम जनतामा चरम निराशा, आक्रोशको स्थिति रहेकाले यसलाई बदल्न तथा मुलुकलाई बर्बाद हुनबाट जोगाउँन दलिय सिण्डीकेटका बिरुद्ध अग्रमोर्चामा लडने कार्यभार आईटी आर्मीको काँधमा आएकाले यसलाई जिम्मेवारी बोधका साथ पाल्ना गर्ने प्रतिबद्धता आईटी आर्मीका अध्यक्ष चन्द्रभुषण साहले व्यक्त गरेका छन् ।

आईटी आर्मीका अध्यक्ष चन्द्रभुषण साहको अध्यक्षतामा बसेको बैठकमा आजपाका वरिष्ठ उपाध्यक्ष तिलक थापा, उपाध्यक्ष ज्ञानेन्द्र तामाङ, महासचिव त्रिभुवन साह, उपमहासचिव धनकुमारी मगर, आईटी आर्मीका नेताहरु प्रशान्त तिमिल्सिना, पप्पु साह, टाईसन लामा, आर्या पाण्डे लगायतको विशेष सहभागिता रहेको थियो