Dhulikhel Eco Banner new

बीआरआई सहकार्य फ्रेमवर्क सहमतिको दस्तावेज सार्वजनिक गर्न प्रभु साहको माग

1.91K
shares

काठमाडौं, २५ मंसिर । आम जनता पार्टी (आजपा) का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले प्रधानमन्त्री केपी शर्मा ओलीले ‘बीआरआई सहकार्य फ्रेमवर्क’ को दस्तावेज सार्वजनिक नगरेर देश र जनतालाई गुमराहमा राखेको आरोप लगाएका छन् ।

साहले उक्त सहमतिबारे सत्ता–सहकार्यमा रहेका मुख्य दलहरू कांग्रे र एमालेका नेताहरूको फरक फरक अभिव्यक्ति आएकोले उक्त सहमतिको दस्तावेज सार्वजनिक गर्न माग गरेका हुन् ।

मंगलबार सिंहदरबारस्थित् संसदीय दलको कार्यालयमा सञ्चारकर्मीहरुसँगको संक्षिप्त कुराकानीमा उनले यस्तो माग गरेका हुन् । सरकारको नेतृत्व गरेका मुख्य दलहरु नै प्रधानमन्त्री ओलीको चीन भ्रमणको बेलामा भएको उक्त सहमतिबारे विभाजित हुनुले बीआरआई ऋण वा अनुदान के हो भन्ने कुरा स्पष्ट नभएको साहको भनाई छ ।

उनले प्रधानमन्त्री ओलीले चीन भ्रमण सकेर स्वदेश फर्किएकै दिन बीआरआईमा ऋणसम्बन्धी कुनै सम्झौता नभएको दाबी गरेको स्मरण गराउँदै भने,‘उहाँले चीन भ्रमण सकेर फर्किएकै दिन ऋणको कुनै कुरा नभएको दाबी गर्नुभएको थियो । तर, हिजो आफ्नो गृहजिल्ला झापामा आयोजित एक कार्यक्रममा बीआरआई ऋण वा अनुदान दुवै हुनसक्ने भन्नुभयो । यसले के देखाउँछ भने उहाँ देश र जनतालाई बीआरआईबारे आफूले गरेको सम्झौता गोप्य राखेर गुमराहमा राख्नुभएको छ ।’

प्रधानमन्त्री ओलीले हिजो झापाको बिर्तामोडमा आयोजित एक कार्यक्रममा ’बीआरआई ऋण पनि हुन सक्छ, अनुदान पनि हुनसक्छ या संयुक्त लगानी पनि हुनसक्छ’ भनेर बोलेपछि साहको यस्तो टिप्पणी गरेका हुन् ।