वैदेशिक रोजगारीमा रहेकालाई आईपीओमा १० प्रतिशत आरक्षण
वि.सं.२०७९ भदौ २८ मंगलवार ०९:३०
shares

काठमाडौं, २८ भदौ । रोजगारीका लागि विदेश गएका नेपालीहरुले आईपीओमा १० प्रतिशत आरक्षण पाउने भएका छन् । नेपाल धितोपत्र बोर्डले ‘धितोपत्र दर्ता तथा निष्काशन (छैठौं संशोधन) नियमावली–२०७९’ जारी गर्दै वैदेशिक रोजगारीमा रहेकाहरुलाई आईपीओमा आरक्षणको व्यवस्था गरेको हो ।
अब आईपीओ निष्काशन गर्ने कम्पनीले १० प्रतिशत शेयर सरकारी निकायबाट श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएका नेपालीका लागि छुट्याउनुपर्ने छ । आईपीओमा आवेदन दिँदा बोर्डबाट धितोपत्र खरिद दरखास्त संकलन सम्बन्धी कार्य गर्न अनुमति प्राप्त बैंक वा वित्तीय संस्थामा रहेको विप्रेषण बचत खाता मार्फत मात्रै भुक्तानी गर्नु पर्नेछ ।
वैदेशिक रोजगारीमा रहेका युवालाई छुट्याईएको शेयर बिक्री नभएमा बाँकी रहेको शेयर सर्वसाधारण समूहमा थप गरेर जारी गर्नुपर्ने व्यवस्था नियमावलीमा गरिएको छ । नियमावलीमा विवरणपत्र प्रकाशन गरी निष्काशन गरिएको धितोपत्र बाहेक अन्य समूहको धितोपत्र संगठित संस्थाले सर्वसाधारणका लागि प्राथमिक सार्वजनिक निष्काशन गरेको शेयर बाँडफाँड भएको मितिले तीन वर्षको अवधि पूरा नभई बिक्री गर्न नपाइने व्यवस्था गरेको छ ।
तर प्राइभेट इक्वीटी, भेन्चर क्यापिटल, हेज फण्ड वा यस्तै प्रकारको कोषको रुपमा बोर्डमा वा विदेशमा दर्ता भएको कोषको स्वामित्वमा रहेको धितोपत्र संगठित संस्थाले सर्वसाधारणका लागि प्राथमिक सार्वजनिक निष्काशन गरेको शेयर बाँडफाँड भएको मितिले एक वर्षको अवधि पूरा भएपश्चात् बिक्री गर्न सक्ने व्यवस्था गरिएको छ ।

















