मकर जितुमायाको आईपीओमा आवेदन दिने आज अन्तिम दिन
वि.सं.२०७९ चैत २२ बुधवार ०७:१९
shares

काठमाडौं, २२ चैत । मकर जितुमाया सुरी हाइड्रोपावर लिमिटेडको आईपीओमा आवेदन दिन आज अन्तिम दिन रहेको छ । कम्पनीले यहि चैत १९ गतेदेखि बिक्री खुला गरेको आईपीओमा आज साँझ पाँच बजेसम्म आवेदन दिने समय रहेको छ ।
कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका १४ लाख ४९ हजार ४०० कित्ता निष्काशन गरेको हो । सोमध्ये ८० हजार ७० कित्ता शेयर सामूहिक लगानी कोषका लागि र ३२ हजार २८ कित्ता शेयर कर्मचारीहरुका लागि सुरक्षित गरिएको छ । सर्वसाधारण लगानीकर्ताले बाँकी रहेको १३ लाख ३७ हजार ३०२ कित्ता शेयरका लागि आवेदन दिन सक्नेछन् ।
सो आईपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा १० हजार कित्ताका लागि आवेदन दिन सकिनेछ । कम्पनीले प्रबर्धन गरिरहेको ६.४ मेगावाटको सुरी खोला जलविद्युत आयोजनाको कुल अनुमानित लागत १ अर्ब ३४ करोड ६४ लाख १९ हजार रुपैयाँ रहेको छ भने प्रतिमेगावाट कुल अनुमानित लागत १९ करोड २३ लाख ४५ हजार ५७१ रुपैयाँ रहेको छ । त्यसैगरी, ७ मेगावाटको माथिल्लो सुरी खोला जलविद्युत आयोजनाको कुल अनुमानित लागत १ अर्ब २९ करोड ५० लाख रुपैयाँ रहेको छ भने प्रति मेगावाट अनुमानित लागत १८ करोड ५० लाख रुपैयाँ रहेका छ ।
सुरी खोला जलविद्युत आयोजनाको साधारण लगानी फिर्ता हुने अवधि ९.१५ वर्ष रहेको छ भने डिस्काउण्टमा लगानी फिर्ता हुने अवधि १७.३७ वर्ष रहेको छ । त्यस्तै, माथिल्लो सुरी खोला जलविद्युत आयोजनाको साधारण लगानी फिर्ता हुने अवधि ८.४४ वर्ष रहेको छ भने डिस्काउण्टमा लगानी फिर्ता हुने अवधि १२.९५ वर्ष रहेको छ ।
कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ । लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति लिई आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरुबाट सि आस्बा प्रणाली मार्फत आवेदन दिन सक्नेछन् ।

















