मेरो काम नै जितको आधार हो, सुकुनाको सभापतिमा दोहोरिनेमा ढुक्क छु: सन्तोष लिम्बू
वि.सं.२०७९ पुस २६ मंगलवार १९:२३
shares

मोरङ, पुस २६ । मोरङको सुकुना बहुमुखी क्याम्पसमा स्ववियु निर्वाचनको माहोल सुरु भएको छ । त्यसो त स्ववियुको निर्वाचन आउन अझै २ महिना भन्दा बढी समय बाँकी छ । तर पनि स्ववियुको सभापतिमा दाबी गर्ने कार्य सुरु भइसकेको छ । हालका स्ववियु सभापति सन्तोष लिम्बूले फेरी पनि दोहोरिने चाहाना व्यक्त गरेका छन् ।
विगतमा विद्यार्थीको हितमा आफूले गरेको काम नै आफ्नो जितको आधार भएको उनले जिकिर गरेका छन् । केटिएम भ्वाइससँग कुरा गर्दै लिम्बुले भने ‘विगतका दिनमा मैले गरेको काम नै मेरो जितको आधार हो । विद्यार्थीहरूले मैले गरेको कामको मूल्याङ्कन गर्ने नै छन् । साँच्चै भन्ने हो मेरो जित निश्चित भइसक्यो औपचारिक घोषणा हुन मात्रै बाँकी हो ।’
त्यसो त यस अघि नेकपा एमालेको भातृ संघठन अनेरास्ववियुबाट प्रतिनिधित्व गर्दै सभापतिको पदमा निर्वाचित भएका लिम्बूको सामुन्ने एउटा चुनौती पनि छ । नेकपा फुटको समयमा नेकपा एकीकृत समाजवादी (एस)लाई समर्थन गरेकै कारण उनको मत काटिने हो कि भन्ने विषयमा समेत सुकुना भित्र चर्चा हुन थालेको छ । तर सो कुराको प्रभाव स्ववियु निर्वाचनमा नपर्नेमा लिम्बू विश्वस्त छन् । उनी भन्छन् ‘सरकारमा त प्रतिपक्ष भन्ने रहेन । राष्ट्रिय सहमतिको सरकार बनेको छ । यो क्याम्पस भित्रको निर्वाचन न हो । त्यसले विद्यार्थीको हितमा काम गर्ने कुरामा को कुन पार्टीको भन्ने कुरा आउँछ जस्तो लाग्दैन । त्यसमा पनि सुकुना क्याम्पस भित्र त्यो सम्भावना म देख्दिन । विगतका दिनमा कसले कति काम गर्यो भन्ने कुरा महत्त्वपूर्ण हुन्छ जस्तो लाग्छ ।’
लिम्बूले आफ्नो कार्यकालमा विद्यार्थीले महसुस गर्ने गरी परिवर्तन गरेको जिकिर गरेका छन् । त्यसो त क्षेत्रीय हिसाबले खेलकुदमा निक्कै कमजोर क्याम्पसको तक्मा पाएको सुकुनाले लिम्बुकै कार्यकालमा ४ वटा ट्रफि ल्याउँदै खेलकुदमा सुकुना कमजोर छैन भन्ने पुष्टि समेत गरेको छ । अझै सुकुना भित्रै हुने आन्तरिक खेलकुदमा समेत पुरस्कारको व्यवस्था गराएर एउटा सामुदायिक क्याम्पसले पनि खेलाडीहरूलाई प्रोत्साहन गर्न सक्छ भन्ने उदाहरण समेत प्रस्तुत गरिसकेका छन् ।




उनी सभापति भए पश्चात् मैले पढ्न पाइन भन्ने धेरै विद्यार्थीलाई कलेज प्रशासनसँग सम्झौता गरेर उनिले पढाएका छन् । उनकै पहलमा छात्रवृत्तिमा अध्ययन गरेका धेरै विद्यार्थी आज आफ्नो अध्ययन पुरा गरेर आफ्नै खुट्टामा उभिन सक्ने भएका छन् ।
यता मधेसको शीत लहरका कारण जाडोले कठ्याङ्ग्रिएका विद्यार्थीलाई न्यानो महसुस गराउन उनले क्याम्पस परिसरमा आगो ताप्ने वातावरण समेत मिलाएका छन् । व्यवस्थापन र शिक्षा संकायमा मात्रै पाउने फ्रिसिपलाई पनि उनले विस्तार गरेका छन् । उनको कार्यकालमा १० प्लस २ विज्ञान संकाय र विएससीलाई समेत फ्रिसिपको व्यवस्थापन भएको छ । यही कार्यकालमा एमबिबिएस र आइसीटीमा समेत उक्त व्यवस्था लागू गराउन उनी लागि परेका छन् ।

उनको कार्यकालमा कलेज परिसरमा सिसी क्यामेराको व्यवस्थापन भएको छ । क्याम्पसमा प्रोजेक्टरबाट पढाउने वातावरण सिर्जना गर्ने श्रेय समेत लिम्बूलाई नै जान्छ । क्याम्पसमा कम्प्युटर अपरेटर देखी स्टाफ नर्ससम्मको आवश्यकता महसुस गरेर उनले त्यसको समेत व्यवस्थापन गराएका छन् ।
आगामी स्ववियु निर्वाचनमा सभापतिका लागि ४ जना आकांक्षी रहे पनि लिम्बुले आफूलाई बलियो उम्मेदवारको रूपमा प्रस्तुत गरेका छन् ।
(सभापति लिम्बु र केटिएम भ्वाइसबीचको संवादमा आधारित ।)



















