Dhulikhel Eco Banner new

अनुदानमा उन्नत जातका भैँसी वितरण

3.99K
shares

काठमाडौं, २० वैशाख । कैलालीको चुरे गाउँपालिकाले व्यावसायिक पशुपालनमा किसानलाई आकर्षित गर्न अनुदानमा उन्नत जातका भैँसी वितरण गरेको छ । गाउँपालिकाले वडा नं ३, ५ र ६ का १८ किसानलाई अनुदानमा १८ उन्नत जातका दुधालु भैँसी वितरण गरेको हो ।

किसानलाई व्यावसायिक बनाउँदै दूध उत्पादन वृद्धि गर्ने उद्देश्यले गोठ सुधारका कार्यक्रमसँगै दुधालु भैँसी वितरण गरिएको गाउँपालिकाका पशु विकास अधिकृत धर्मराज भट्टले बताए । उनले निम्न आयस्रोत भएका अतिविपन्न, गरिब परिवारका किसानलाई भैँसीपालन व्यवसायतर्फ आकर्षित गर्न तीन वडाका १८ किसानलाई अनुदानमा उन्नत जातका भैँसी वितरण गरिएको बताए ।

गाउँपालिकाको चालु आर्थिक वर्षको पशु विकास शाखालाई कुल विनियोजित बजेट ३९ लाखमध्ये १८ लाखको लागतमा दुधालु भैँसी किनेर अनुदानमा उन्नत जातका दुधालु भैँसीसँगै किसानलाई आवश्यक पर्ने सामग्री वितरण गरिएको उनले जानकारी दिए ।

पशु विकास अधिकृत भट्टले सो गाउँपालिका पशुपालनका लागि उपयुक्त ठाउँ भएकाले किसानलाई त्यसतर्फ आकर्षित गर्ने खालका कार्यक्रम अघि बढाउँदै लगिने गाउँपालिकाको नीति रहेको बताए । जीविकोपार्जनका लागि विदेश जानुभन्दा गाउँमै पशुपालन र कृषि क्षेत्रमा लाग्न अभिप्रेरित गर्न किसान लक्षित अनुदानका कार्यक्रमलाई वर्षेनि बढाउँदै लगिने गाउँपालिकाका अध्यक्ष चक्रबहादुर बोगटीले बताए ।

किसानलाई दिने अनुदान र उनीहरूले गरेको उत्पादनको बजारीकरणका लागि पालिका निरन्तर समन्य गरेर अघि बढ्ने उनको भनाइ छ । व्यावसायिक पशुपालनमा किसानलाई आकर्षित गर्न र किसानको आयस्तर वृद्धि गर्न अनुदानका कार्यक्रम प्रभावकारी बन्ने विश्वास आफूले लिएको उनले बताए।

पशु विकास शाखाले चालु आवभित्र रु आठ लाखमा बोकालाई खसी बनाउने मेसिन, रु पाँच लाखमा रागा बनाउने मेसिन र रु छ लाखमा औषधि खरिद गरी पशुपालक किसानलाई वितरण गरिनेसमेत जनाएको छ ।

कैलालीको पहाडी भेगमा पर्ने सो गाउँपालिका पशुपालन र कृषिका लागि उपयुक्त क्षेत्रका रूपमा चिनिने गरिन्छ । उक्त गाउँपालिकामा पछिल्लो समय पशुपालन र कृषिकर्म गर्न सुदूरपश्चिमका बझाङ, अछाम, बैतडीबाट बसाइँसराइ गरी आउनेको सङ्ख्या बढ्दै गएको गाउँपालिकाका सूचना अधिकारी कालिप्रसाद भट्टले बताए ।