Dhulikhel Eco Banner new

क्याम्पस प्रमुख कुशवाहाको हत्या आरोपमा ७ जनामाथि कर्तव्य ज्यान मुद्दा

3.59K
shares

काठमाडौं, १३ असार । बाराको कलैयास्थित रामराजा मोहनविक्रम बहुमुखी क्याम्पसका प्रमुख हरिभूषण कुशवाहाको हत्या आरोपमा ७ जनामाथि कर्तव्य ज्यान मुद्दा दर्ता भएको छ । प्रहरीले क्याम्पस प्रमुख कुशवाहाको हत्या अभियोगमा आदर्शकोतवाल गाउँपालिका वडा नम्बर(२ खजुरियाका ५४ वर्षीय विनोद राउत कुर्मी र ३४ वर्षीय राधेसकुमार पटेलसहित ७ जनामाथि मंगलवार मुद्दा दर्ता गरेको छ ।

यसैगरी प्रहरीले ३२ वर्षीय अवधलाप्रसाद कुशवाहा, २९ वर्षीय चांदसीप्रसाद कुशवाहा, बतराका २७ वर्षीय श्रवणकुमार साह, कलैया उपमहानगरपालिका १० मटिअर्वाका ५० वर्षीय ब्रम्हदेव राम र करैयामाई गाउँपालिका ७ पिपरा टोलका ५० वर्षीय मोतिलाल चौधरीमाथि मुद्दा दर्ता गरेको छ ।

उनीहरुमाथि हातहतियार खरखजानासम्बन्धि मुद्दाअन्तर्गत बारा जिल्ला अदालतबाट मंगलवारबाट लागु हुने गरी छ दिनको म्याद थप लिएर अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता दधिराम न्यौपानेले जानकारी दिए । सो घटनामा संलग्न मुख्य अभियुक्त सुरेन्द्र कुशवाहासहित अन्य फरार प्रतिवादीहरुको खोजी कार्य जारी रहेको पनि उनले जानकारी दिए । प्रवक्ता न्यौपानेका भने, हालसम्मको अनुसन्धानका क्रममा घटनाको कारण घरायसी विवाद देखिएको छ ।

गाउँबाट कलैयातर्फ मोटरसाइकलमा फर्किने क्रममा कुशवाहामाथि आदर्श कोतवाल गाउँपालिका वडा नम्बर ३ बतरा टोलमा सुरेन्द्रसहित मोटरसाइकलमा पछाडि आएका व्यक्तिले जेठ ३२ गते गोली हानी हत्या गरेका थिए ।

गोली लागे लगत्तै क्याम्पस प्रमुख कुशवाहाले आफूमाथि सुरेन्द्रले गोली प्रहार गरेकोभन्दै प्रहरी र आफन्तलाई मोबाइलबाट फोन गरेर सुनाएका थिए । प्रहरीले सोही घटनामा प्रयोग गरिएका तीन वटा मोटरसाइकल, ६ राउण्ड गोली, मोबाइल, ल्यापटप, नेपाली तथा भारतीय सिम बरामद गरेको पनि जनाएको छ ।