Dhulikhel Eco Banner new

समयमै मल उपलब्ध गराउन र सडक निर्माण गर्न सांसदहरुको आग्रह

3.78K
shares

काठमाडौं, १३ असार । प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा सांसदहरूले किसानलाई समयमै मल उपलब्ध गराउन तथा विभिन्न सडक निर्माण गर्न सरकारसँग आग्रह गरेका छन्।

बैठकको शून्य समयमा बोल्दै सांसद विद्या भट्टराईले अछामको छाउगोठमा किशोरी बलात्कृत भएकी, ललितपुरमा धारामा पानी लिन जाँदा महिलामाथिको हिंसा र पोखराका स्पाहरूमा नाबालिकाको प्रयोगजस्ता घटनाका विषयमा अनुसन्धान गरी दोषीलाई कारबाही र पीडितलाई न्याय दिन सरकारसँग माग गरिन्।

सांसद बिना लामाले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बहालवाला मुख्यसचिवमाथि भ्रष्टाचारको मुद्दा दायर गरेको विषय उठाउँदै मुख्यसचिव नियुक्ति प्रक्रिया नै शङ्काको घेरामा रहेको बताइन्।

त्यसैगरी सांसद विनिताकुमारी सिंहले मनसुन सुरु भएसँगै तराईका जिल्लामा सर्पदंशका घटना बढेका उल्लेख गर्दै विभिन्न स्थानका प्राथमिक स्वास्थ्य केन्द्रमा सर्पदंशको उपचारको व्यवस्था गर्ने विषयमा सरकारको ध्यानाकर्षण गराइन्।

सांसद बिना जैसवालले सञ्चारमाध्यमले विभिन्न समस्या उठाइरहेका भए पनि सरकारी निकायले ती विषयमा अनुसन्धानका काममा गति दिन नसकेको बताइन्। सरकारको सेवा प्रवाह नागरिकमैत्री हुन नसकेको र विद्यमान ऐन, कानुनको उचित पालना हुन नसकेको विषय उनले संसदमा उठाइन्।

सांसद शान्ति श्रेष्ठले बागमती करिडोरअन्तर्गत विभिन्न स्थानमा सडक निर्माणको काम रोकिएकामा त्यसलाई समयमै सम्पन्न गर्न माग गरिन्। काठमाडौँ उपत्यकाको फोहर व्यवस्थापन र सौन्दर्यकरणका काम प्रभावकारी हुन नसकेको उनको भनाइ छ।

सांसद सूर्यमान तामाङ ९दोङ०ले वर्षेबाली लगाउने बेलामा किसानले मल नपाएको उल्लेख गर्दै समयमै मल आपूर्ति गर्न माग गरे। रासस