Dhulikhel Eco Banner new

लिग टु क्रिकेटमा नेपाल र ओमान भिड्दै

4.78K
shares

काठमाडौं, २६ जेठ । सन् २०२३ मा आयोजना हुने पुरुष विश्वक क्रिकेटको छनोटको रुपमा रहेको आईसीसी विश्वकप लिग टु अन्तर्गतको सिरिजमा आज नेपालले ओमानको सामना गर्दैछ । यो सिरिजका लागि अहिले नेपाली टोली अमेरिकामा रहेको छ । अमेरिका, ओमान र नेपाल सहभागि रहेको यो सिरीज अन्तर्गत नेपालले पहिलो खेलमा तालिकाको शिर्ष स्थानमा रहेको ओमानको सामाना गर्ने भएको हो ।

खेल नेपाली समय अनुसार राती ९ः१५ बजे सुरु हुने छ । बुधबार भएको पहिले खेलमा आयोजक अमेरिकासँग पराजित भएको ओमान आजको खेलमा जित निकाल्ने लक्ष्यका साथ मैदान उत्रने छ । नेपाल पनि ओमानलाई पराजित गरेर सिरिजमा सुखद सुरुवात गर्ने योजनामा रहेको छ ।

एसियाली प्रतिद्धन्दी ओमानले पछिल्लो समय नेपाललाई लगातार पराजित गर्दै आएको छ । पछिल्ला चार भेटमा नेपाल एक खेलमा मात्रै विजयी भएको छ । लिग टु अन्तर्गत नै नेपालले ओमानलाई २०२१ को सेप्टेम्बरमा उसैको मैदानमा ७ विकेटले हराएको थियो । त्यसअघिको तीन भेटमा ओमान लगातार विजयी भएको थियो ।

लिग टु मा ओमान ३३ खेलमा ४० अंक जोडेर शीर्ष स्थानमा रहेको छ । नेपाल भने १२ खेलमा १२ अंक जोडेर छैटौं स्थानमा रहेको छ । तालिकाको दोस्रो स्थानमा रहेको स्कटल्याण्डको २८ अंक रहेको छ । सिरिजमा एक टोलीले ३६ खेल लेख्नु पर्ने हुन्छ ।

सिरिज अन्तर्गत नै नेपालले दोस्रो खेल अमेरिकाविरुद्ध जुन ११ मा खेल्नेछ । नेपालले तेस्रो खेलमा फेरि ओमानविरुद्ध जुन १४ र अन्तिम खेलमा नेपालले अमेरिकाविरुद्ध जुन १५ मा खेल्ने तालिका रहेको छ ।