पोखरामा नेपालकै पहिलो ‘सावर बञ्जी’ सुरू हुँदै
वि.सं.२०८० चैत २७ मंगलवार १४:२०
shares

पर्यटकीय राजधानी पोखरामा नेपालको पायोनियर एड्भेञ्चर कम्पनी हाइग्राउण्ड एड्भेञ्चर्स नेपालले नेपालमै पहिलोपटक सावर बञ्जी सुरु गर्ने भएको छ । बञ्जी गर्दा पानीको फोहोराको मज्जा लिन पाइनेछ । कम्पनीले हेम्जामा सन्चालनमा गरिरहेको बञ्जीमा करिब ५० लाख रुपैयाँ थप लगानी गरी आफ्ना पाहुनाहरूलाई फरक स्वाद पस्कने योजनाले सावर बञ्जीको अवधारणा ल्याइएको हाइग्राउण्ड एड्भेञ्चर्स नेपाल प्रालिका प्रवन्ध निर्देशक दिनेश महर्जन बताउँछन् ।
पर्यटन व्यवसायी, पत्रकार र नेपाल पर्यटन बोर्डलगायत सरकारी संस्थाका प्रतिनिधिको उपस्तिथिमा सावर बञ्जीको भोलि चैत २८ गते उद्घाटन गरिने महर्जनले जानकारी दिए ।
“विश्वकै दोस्रो र नेपालकै पहिलो सावर बञ्जी सुरु गराउन पाउँदा हामी एकदमै एक्साइटेड छौँ”, महर्जन भन्छन्, “जम्मा ६ हजार ५ सयमा फोटो, भिडियो र टिसर्टसहित बञ्जी बुक गर्न सकिनेछ । जसमा सर्टिफिकेट र लेकसाइडदेखि हेम्जासम्मको दुईतर्फी यातायातको सुविधा समेत समावेश छ ।
“सावर बञ्जी विश्वमै अनौठो प्रडक्ट हो”, ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल, गण्डकी प्रदेशका अध्यक्ष धर्मराज पन्थी भन्छन्, “यसले पर्यटकीय राजधानीको क्रेज अझ बढाउनेमा दुई मत छैन ।” हाइग्राउण्डले युरोपेली एड्भेञ्चर कम्पनी ‘बञ्जी लाट्भिया’सँगको सहकार्यमा सन् २०१४ नोभेम्बर १७ मा बञ्जी जम्प सुरू गरेको थियो ।
“बञ्जीको एड्भेञ्चर आफैंमा उत्कृष्ट अनुभव हो । त्यसैमाथि सावर बञ्जीले अझै एड्भेञ्चर अनुभव गराउने भएकाले पोखरामा आन्तरिक र बाह्य पर्यटकबीच थप आकर्षण भइ पोखराको पर्यटन प्रवद्र्धनमा थप मद्दत हुने विश्वास लिएको छु”, नेपाल पर्यटन बोर्डको पोखरा क्षेत्रीय कार्यालयका प्रमुख सागर श्रेष्ठले भने ।
क्यान्टिलिभर ब्रिजको मोडलमा बनाइएको यो नेपालकै पहिलो टावर बञ्जी पनि हो । यसमा जोडी अंगालो मारेर बञ्जी गर्ने ‘टेन्डम बञ्जी’ पनि नेपालमा हाइग्राउडले नै सुरू गरेको हो जुन अहिले युवायुवतीबीच निकै आकर्षणको केन्द्र बनेको छ । कम्पनीमा शरद गोल्छा, भरत गोल्छा, अभिनव चुरिवाल र दिनेस महर्जनको लगानी छ ।
कम्पनीले सन् २०१२ जुन २ मा नेपालमै पहिलो पटक जिपलाइन भित्र्याएको थियो । सूर्योदय र सूर्यास्तका लागि चर्चित पोखराको सराङ्कोटको टाकुराबाट माछापुच्छ्रेसँग जिस्कँदै हेम्जाको फाँटमा पुगिने जिपलाइन अमेरिकी एड्भेञ्चर कम्पनी ‘जिपफ्ल्यायर युएस’को फ्रेन्चाइज जिपलाइन हो ।
विश्वकै भिरालो र छिटो ९द वर्ल्डस स्टिपेस्ट एण्ड फास्टेस्ट० र विश्वकै दोस्रो लामो सो जिपलाइनमा २ वर्ष अघिबाट सुपरम्यान जिपलाइन पनि सुरू गरिएको छ । कम्पनीले हेम्जा स्टेसनमा नेपालमै पहिलो पटक जायन्ट स्वीङ निर्माण गरेको छ । खोलाबाट २ सय ६२ फिट माथि ९८ फिटको टावर निर्माण गरिएको छ । टावरमा रहेको डोरीमा स्वीङ खेल्ने व्यक्तिलाई झुन्ड्याइन्छ । कुर्सीमा बसे जसरी र सुपरम्यान शैलीमा खेल्न सकिने स्वीङ एक्लै, जोडीमा वा तीन जनासम्म एकैपटक बसेर खेल्न मिल्छ ।
पछिल्लो २ वर्षदेखि कम्पनीले पोखरामा एटिभी अल टेरेन भेहिकलको सेवा पनि दिँदै आएको छ । दुबईको डेजर्ट सफारीमा लोकप्रिय बाइकलाई फेवा किनार र पामे क्षेत्रमा रहेको अफरोडमा चलाएर मज्जा लिन सकिन्छ । यो क्वार्ड बाइकको नामले पनि चिनिन्छ ।

















