७५ वर्षीय वृद्धलाई छोरा बुहारीले जंगलमा अलपत्र पारेको खबर झुटो
वि.सं.२०८१ साउन २ बुधवार १५:३५
shares

काठमाडौं, २ साउन । मोरङको बेलबारी नगरपालिकामा स्थित बेलबारी चिसाङ साझेदारी वन क्षेत्रमा मंगलबार बेवारिसे अवस्थामा फेला परेका ७५ वर्षीय वृद्ध जामुनलाल ऋषिदेवलाई छोरा बुहारीले जंगलमा अलपत्र पारेको भन्ने खबर झुटो भएको पुष्टि भएको छ ।
सुन्दरहरैंचा नगरपालिका १ वा वडाध्यक्ष राम विश्वासले उक्त कुरामा कुनै सत्यता नरहेको बताएका छन् । उनका अनुसार त्यी वृद्धका छोरा जलुवा ऋषिदेव आफै बिरामी रहेका छन् । अध्यक्ष विश्वासले भने ‘यी वृद्धको २ जना छोरा छन्, एक जना यही बिरामी कुरिरहेका छन्, अर्का छोरा भारतमा छन् । जहाँसम्म मोटरसाइकलमा छोराबुहारीले मोटरसाइकलमा हालेर जंगलमा लगे भन्ने कुरा छ त्यो हैन । किन भने यो मान्छेले बाइक त परको कुरा साइकल पनि चलाउन सक्दैन । उ आफै हाइड्रोशीलको बिरामी छ ।’
अलपत्र अवस्थामा भेटिएका वृद्धका छोरा जलुवा ऋषिदेवका अनुसार उनका बुबा मोरङको हुक्लाबारी स्थित आफन्तको घर गएका थिए । उनी सावरी साधन चढ्न भन्दा पैदल यात्रा गर्न रुचाउने भएकाले हिँड्दै घर फर्कने क्रममा होस गुमाएपछि जंगल छिरेर बेहोस भएका थिए । उनले मिडियाहरू सबै मिलेर आफूलाई फसाउन खोजेको जिकिर गरे । उनले भने ‘म ज्याला मजदुरी गरेका २ छाक टार्छु, अर्काको ट्वाइलेट सफा गर्छु, बोहनी गर्छु । अहिले आफै हाइड्रोशीलको बिरामी छु ।’ उनले आँखा भरीको आँसु लुकाउन खोज्दै भने ‘मलाई सबै मिलेर पाप बोकाए । आफ्नै बुबालाई मैलै किन जंगलमा लगेर छाड्छु र ? तर आरोप लगाउँदैमा हुन्छ र ?
मंगलबार बेवारिसे अवस्थामा फेला परेका जामुनलाल ऋषिदेवलाई वन सुरक्षाकर्मीको टोलीले नियमित गस्तीका क्रममा फेला पारेपछि बेलबारी नगर अस्पतालमा अस्पताल पुयाईएको थियो । उनलाई थप उपचारका लागि मंगलबार राती करिब १० बजे सुन्दरहरैंचा १ स्थित नगर अस्पताल लगिएको थियो । हाल उनको सोही अस्पतालमा उपचार भइरहेको छ । उनको उपचारमा खटिएका डाक्टर सरोज मण्डलले बिरामीको बाहिरी घाउ खटिरामा सुधार आए पनि मिर्गौलामा समस्या देखिएको बताएका छन् । नगर अस्पतालका प्रमुखसमेत रहेका डा। मण्डलले भने ‘बाहिरी रूपमा सुधार देखिएको छ । हिजो अचेत रूपमा हामीकहाँ आइपुग्नु भएको थियो । अहिले छोटो छोटो संवाद गर्न थालेको छ । तर भित्र भने उनको मिर्गौलामा इन्फेक्सन देखिएको छ । पिसाब जुन मात्रामा आउनु पर्ने हो त्यो आउन सकेको छैन । पिसाबमा रगत नै आइरहेको छ ।’
घटनाको विषयमा इलाका प्रहरी कार्यालय बेलबारीले थप अनुसन्धान गरिरहेको छ । प्रारम्भिक अनुसन्धानले छोरा बुहारीले जंगलमा छाडेको भन्ने कुरालाई पुष्टि गर्ने कुनै आधार नभेटिएको प्रहरी स्रोतले जानकारी दिएको छ



















