अमेरिकाबाट आएका प्रतिस्पर्धीहरुलाई नेपाल च्याप्टरद्धारा भव्य स्वागत
वि.सं.२०७९ जेठ २५ बुधवार १३:२८
shares

काठमाडौं, २५ जेठ । इन्ट्रा नेशनल वेल फेयर एण्ड सपोर्ट फाउन्डेशन अफ अमेरिका(इन्ट्रा फाउन्डेशन)ले अमेरिकामा आयोजना गरेको ‘मेरो भ्वाइस कप यूएसए र मेरो डान्स कप यूएसए (सिजन २)को उत्कृष्ट १२ मा पर्न सफल प्रतिस्पर्धीहरुलाई आज त्रिभुवन विमानस्थलमा भव्य स्वागत गरिएको छ । अमेरिकाबाट आएका प्रतिस्पर्धीहरुलाई नेपाल च्याप्टरका अध्यक्ष दिलिप रायमाझी लगायतका प्रतिनिधीहरुले भव्य स्वागत गरे ।
इन्ट्रा फाउन्डेशन, नेपाल च्याप्टरको आयोजनामा अमेरिकाबाट आएका २४ जना प्रतिस्पर्धीसहित ४२ जना व्यक्तिहरुलाई विमानस्थलमा पञ्चेबाजा बजाएरै स्वागत गरिएको हो । स्वागतपश्चात विमानस्थलबाट २ दर्जन बढी मोटरसाइकलमा र्यालीसहित २४ प्रतिस्पर्धीलाई आयोजकले ठमेलको मुलबरी होटलमा पुर्याएको थियो ।
होटलमा आयोजना गरिएको पत्रकार सम्मेलनमा अमेरिकाबाट आएका २ शोका प्रतिस्पर्धी र अन्य प्रतिनिधीहरुलाई स्वागत गरियो । यस्तै, दुबै शोका निर्णायकहरुलाई पनि आयोजकले स्वागत गर्यो । ग्यालेक्सी फोर के टेलिभिजनबाट हरेक शुक्रबार र शनिबार प्रशारण भैरहेको यो शोको बाँकी १० भागको छायांकन नेपालमै हुनेछ । कार्यक्रमको फाइनल भने अमेरिकामा नै हुने आयोजकले जनाएको छ ।
अमेरिका र क्यानडामा रहेका नेपाली भाषीहरुले भाग लिएको प्रतिस्पर्धा अन्तर्गत ‘मेरो भ्वाइस कप–२’को उत्कृष्ट १२ मा शित्तल शर्मा, मुना लकान्ड्री, बाबु खालिङ, करण तामाङ, प्रेम अङदेम्बे, मेघा पौडेल, अजित सुब्बा, सम्राट गुरुङ, सागर सुवेदी र लिला गजमेर, संगीता बोगटी छन् ।
यस्तै, ‘मेरो डान्स कप’को उत्कृष्ट १२ मा सुमन लामिछाने, सिवानी ढकाल, विशाल उप्रेती, रेजिना सुब्बा, रेनुका राई, सब्य बिष्ट, सुमिका तामाङ, आयुषा समाल लगायत छन् ।
यी दुबै कार्यक्रमको निर्देशक एलिन श्रेष्ठ हुन् । संस्थाका अध्यक्ष डिल्ली अधिकारीको परिकल्पनामा तयार भएको दुबै रियालिटी शोले अमेरिका र क्यानडामा रहेका नेपाली भाषी प्रतिभाहरुलाई विश्वमाझ चिनाउन मद्दत गरेको कार्यक्रम संयोजक इन्द्र बाँनियाले जानकारी दिए ।

















