Dhulikhel Eco Banner new

भक्तपुरको रोयल थाईमा तीजको रौनक

546
shares

काठमाडौं, ७ भाद्र । नेपाली महिलाको महान् पर्व हरितालिका तीजको अवसरमा शनिबार भक्तपुरको राधेराधेस्थित रोयल थाई हस्पिटालिटीमा विशेष कार्यक्रम आयोजना गरिएको छ। कार्यक्रममा रातो पहिरनमा सजिएका महिलाहरू तीजका गीतमा रमाउँदै नाचगान गरिरहेका थिए भने नेपालका लागि थाइल्याण्डका राजदूत डोन्नाविट पोल्सावटसमेत नेपाली गीतको तालमा झुमेका थिए।

रोयल थाई हस्पिटालिटीले आयोजना गरेको तीज विशेष कार्यक्रममा राजदूत पोल्सावटको सहभागिताले कार्यक्रम थप आकर्षक बनेको थियो। उनले नेपाली संस्कृति, परम्परा र सांस्कृतिक प्रस्तुतिको अवलोकन गर्नुका साथै सहभागी महिलाहरूसँगै नृत्यमा समेत सहभागी भए। कार्यक्रमलाई सम्बोधन गर्दै राजदूत पोल्सावटले नेपाली धर्म, संस्कृति र चाडपर्वको आफ्नै विशिष्ट पहिचान रहेको बताए। नेपालको मौलिक संस्कृति नै देशको महत्वपूर्ण पहिचान भएको उल्लेख गर्दै उनले सांस्कृतिक कार्यक्रमले नेपाल र थाइल्याण्डबीचको सम्बन्धलाई थप मजबुत बनाउन सहयोग पुग्ने धारणा व्यक्त गरे।

नेपाल र थाइल्याण्डबीच धार्मिक तथा सांस्कृतिक सम्बन्ध रहेको उल्लेख गर्दै उनले दुवै देशका नागरिकबीच सांस्कृतिक ज्ञान, अनुभव र परम्पराको आदानप्रदानका लागि यस्ता कार्यक्रम महत्वपूर्ण हुने बताए। कार्यक्रममा नेपाली लोकसंस्कृति झल्काउने विभिन्न गीत तथा नृत्य प्रस्तुत गरिएको थियो। तीजका गीतमा महिलाहरू रमाइरहँदा राजदूत पोल्सावट पनि नेपाली सांस्कृतिक माहोलमा घुलमिल भएका थिए।

तीजको अवसरमा आयोजित कार्यक्रममा नेपाली तथा थाइल्याण्डका विभिन्न परिकारसमेत राखिएको थियो। दुवै देशका परम्परागत तथा अर्गानिक खानाका परिकारमार्फत सांस्कृतिक र खाद्य विविधता प्रस्तुत गरिएको आयोजकले जनाएको छ। आयोजकका अनुसार यस्ता कार्यक्रमले नेपाली मौलिक संस्कृति, परम्परा तथा खानाका परिकारलाई अन्तर्राष्ट्रियस्तरमा चिनाउन सहयोग पुग्नेछ। साथै, नेपाली उत्पादनको प्रवर्द्धन गर्नु र विदेशी नागरिकलाई नेपाली संस्कृति तथा परम्पराबारे नजिकबाट जानकारी गराउनु पनि कार्यक्रमको उद्देश्य रहेको आयोजकको भनाइ छ।

हरितालिका तीज नेपाली महिलाले विशेष उत्साहका साथ मनाउने पर्व हो। यस अवसरमा महिलाहरू भगवान् शिव र माता पार्वतीको पूजा–आराधना गर्ने, व्रत बस्ने, दर खाने तथा रातो र हरियो पहिरनमा सजिएर तीजका गीतमा नाचगान गर्ने गर्छन्। रोयल थाई हस्पिटालिटीले हरेक वर्ष तीज विशेष कार्यक्रम आयोजना गर्दै आएको जनाएको छ। यस वर्ष थाइल्याण्डका राजदूतको सहभागिताले नेपाली तीजको सांस्कृतिक रौनकमा कूटनीतिक रंगसमेत थपिएको सहभागीहरूले बताएका छन्।