Dhulikhel Eco Banner new

नोबेल कलेज अफ हेल्थ एण्ड एजुकेशनले आइपिओ जारी गर्ने, बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेण्ट बैंकिङ

2.78K
shares

काठमाडौं, १४ पुस । काठमाडौंस्थित नोबेल कलेज अफ हेल्थ एण्ड एजुकेशन फाउण्डेशन लिमिटेडले नियमनकारी निकायबाट आवश्यक स्वीकृति प्राप्त गरी सर्वसाधारणका लागि प्राथमिक शेयर सार्वजनिक निष्काशन गर्ने भएको छ। कम्पनीले यस शेयर निष्काशन तथा विक्री प्रबन्धकको रूपमा नबिल इन्भेष्टमेण्ट बैंकिङ लिमिटेडलाई नियुक्त गरेको छ।

कम्पनीको जारी पूँजी ३ अर्ब ५० करोड रुपैयाँ रहेको छ। यसमध्ये करिब २८.५७ प्रतिशत शेयर सर्वसाधारणमा प्राथमिक निष्काशन गरिनेछ भने संस्थापक समूह अन्तर्गत करिब ७१.४३ प्रतिशत शेयर कायम रहनेछ।

नोबेल कलेजले काठमाण्डौंको पुरानो बानेश्वरमा फ्रन्टलाइन ब्राण्डको नाममा संचालन हुँदै आएको अस्पतालको हालको क्षमता १०० शैया रहेको जनाएको छ। थप सेवा विस्तारका लागि २०० शैया क्षमताको नयाँ अस्पताल निर्माणको योजना रहेको छ, जसका लागि थप पूँजीको आवश्यकता परेकोले सार्वजनिक निष्काशनमा जाने निर्णय गरिएको कम्पनीका अध्यक्ष नवराज पाण्डेले जानकारी दिए।

कम्पनीले स्नातक तहका विद्यार्थीलाई लक्षित गरी नर्सिङ र फार्मेसी लगायतका शैक्षिक कार्यक्रम पनि सञ्चालन गर्दै आएको छ। नोबेल कलेजको स्थापना वि.सं. २०६२/०९/१९ मा भएको थियो र हाल यसको वार्षिक कारोबार ५० करोड रुपैयाँ भन्दा माथि रहेको छ। यस संस्थामा २०० भन्दा बढी कर्मचारी कार्यरत छन्।

आजको सम्झौतामा नोबेल कलेजका अध्यक्ष नवराज पाण्डे र नबिल इन्भेष्टमेण्ट बैंकिङका प्रमुख कार्यकारी अधिकृत मनिष नारायण जोशीले हस्ताक्षर गर्नुभएको थियो।