इन्धनको मूल्य घट्यो, पेट्रोल–डिजेल र हवाई इन्धन सस्तो
वि.सं.२०८२ पुस १७ बिहीवार १०:१५
shares

काठमाडौं, १७ पुस । नेपाल आयल निगमले पेट्रोल, डिजेल तथा हवाई इन्धनको मूल्य घटाएको छ। भारतबाट प्राप्त नयाँ मूल्यसूचीअनुसार इन्धन सस्तो आएपछि नेपालमा पनि मूल्य समायोजन गरिएको निगमले जनाएको छ।
भारतले प्रतिलिटर डिजेलमा ५.०६ रुपैयाँ, पेट्रोलमा ४.१९ रुपैयाँ र हवाई इन्धनमा ८.१५ रुपैयाँ घटाएर पठाएसँगै नेपालमा डिजेल तथा मट्टितेलको मूल्य प्रतिलिटर ५ रुपैयाँले, पेट्रोलको मूल्य ४ रुपैयाँले र आन्तरिक हवाई इन्धनको मूल्य प्रतिलिटर ६ रुपैयाँले घटाइएको छ। अन्तर्राष्ट्रिय उडानतर्फ काठमाडौंका लागि हवाई इन्धनको मूल्य प्रतिकिलोमिटर ४२ अमेरिकी डलरले घटाइएको निगमले जानकारी दिएको छ।
यद्यपि एलपी ग्यासको मूल्य प्रतिसिलिण्डर १००.३५ रुपैयाँले बढेर आए पनि उपभोक्ता हितलाई ध्यानमा राख्दै ग्यासको खुद्रा बिक्री मूल्य भने यथावत राखिएको निगमले स्पष्ट पारेको छ।
निगमका अनुसार डिपो वा कार्यालयदेखि १५ किलोमिटरसम्मको दूरीका लागि पेट्रोलको नयाँ खुद्रा मूल्य पहिलो वर्गमा प्रतिलिटर १५६.५० रुपैयाँ, दोस्रो वर्गमा १५८ रुपैयाँ र तेस्रो वर्गमा १५९ रुपैयाँ कायम गरिएको छ। त्यसैगरी डिजेल र मट्टितेलको मूल्य पहिलो वर्गमा १३४.५० रुपैयाँ, दोस्रो वर्गमा १३६ रुपैयाँ र तेस्रो वर्गमा १३७ रुपैयाँ प्रतिलिटर तोकिएको छ।
पहिलो वर्गमा चारआली, विराटनगर, जनकपुर, भलबारी, अमलेखगञ्ज, नेपालगञ्ज, धनगढी र वीरगञ्ज रहेका छन्। दोस्रो वर्गमा दाङ र सुर्खेत पर्दछन् भने तेस्रो वर्गमा काठमाडौं, पोखरा र दिपायल रहेका छन्।















