Dhulikhel Eco Banner new

ग्लोबल आइएमई बैंकको १९औँ वार्षिकोत्सव अवसरमा १९ सामाजिक उत्तरदायित्व कार्यक्रम घोषणा

4.33K
shares

 

काठमाडौं, ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्नो १९औँ वार्षिकोत्सवलाई सामाजिक उत्तरदायित्वसँग जोड्दै देशभर १९ वटा प्रभावकारी सीएसआर कार्यक्रम सञ्चालन गर्ने घोषणा गरेको छ। नेपालको अग्रणी वाणिज्य बैंकका रूपमा स्थापित बैंकले शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण, वित्तीय साक्षरता, मानवीय सहयोग तथा आयआर्जन अभिवृद्धिलाई प्राथमिकतामा राख्दै यी कार्यक्रम अघि सारेको हो।

बैंकले सातै प्रदेशका दुर्गम, गरिब, विपन्न तथा न्यून आय भएका समुदायलाई लक्षित गरी कार्यक्रम सञ्चालन गर्ने जनाएको छ। तीमध्ये ‘ग्लोबल आइएमई स्वस्थ नारी पहल’ प्रमुख कार्यक्रमका रूपमा रहेको छ, जसअन्तर्गत सात प्रदेशमा १४ वटा निःशुल्क महिला स्वास्थ्य शिविर सञ्चालन गरिनेछ। शिविरमा स्त्रीरोग विशेषज्ञमार्फत स्वास्थ्य जाँच, पाठेघरको क्यान्सर ९भीआईए० परीक्षण, गर्भाशय प्रोल्याप्स उपचार तथा औषधि वितरण गरिनेछ। गम्भीर अवस्थाका बिरामी महिलाको दोस्रो चरणमा शल्यक्रिया उपचारसमेत गरिने बैंकले जनाएको छ।

यसैगरी, बैंकले सात स्थानमा वृहत् आँखा जाँच तथा मोतियाबिन्दु शल्यक्रिया शिविर सञ्चालन गर्नेछ भने १,५०० गरिब विद्यार्थीको आँखा जाँच गरी निःशुल्क चश्मा वितरण गरिनेछ। जटिल तथा दीर्घ रोगका बिरामीलाई स्थानीय तहको सिफारिसमा आर्थिक सहयोग उपलब्ध गराइनेछ।

शिक्षा क्षेत्रमा बैंकले कक्षा ६ देखि १२ सम्म अध्ययनरत गरिब तथा जेहेन्दार छात्रालाई छात्रवृत्ति प्रदान गर्दै आएको छ। यो कार्यक्रमअन्तर्गत यस वर्ष थप ७७ छात्रा लाभान्वित हुनेछन्। दुर्गम विद्यालयमा पुस्तकालय निर्माण, विद्यालय पोसाक तथा शैक्षिक सामग्री वितरण, प्राथमिक उपचार तालिम र सामग्री हस्तान्तरण पनि गरिनेछ। साथै, उच्च शिक्षामा एमफिल र पीएचडी अध्ययन तथा अनुसन्धानका लागि पनि आर्थिक सहयोग प्रदान गरिनेछ।

वातावरण संरक्षणतर्फ ‘ग्लोबल ग्रिन स्कूल’ कार्यक्रममार्फत प्लास्टिक विस्थापन, वृक्षारोपण, सरसफाइ तथा फोहोर व्यवस्थापन केन्द्र स्थापना गरिनेछ। रक्तदान, बालगृह तथा आश्रमलाई सहयोग, अटिजमसम्बन्धी चेतनामूलक कार्यक्रम, खेलकुद सामग्री वितरण र उद्यमशाला कार्यक्रममार्फत सीपमूलक तालिम पनि समावेश छन्।

बैंकले आफ्ना ३५२ वटै शाखामार्फत वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गर्दै विद्युतीय ठगी न्यूनीकरण र वित्तीय पहुँच विस्तारमा जोड दिने जनाएको छ।

ग्लोबल आइएमई बैंकले वार्षिकोत्सवलाई सामाजिक उत्तरदायित्वसँग जोडेर बैंकिङ क्षेत्रमा नयाँ उदाहरण प्रस्तुत गरेको जनाएको छ। बैंक देशका ७७ वटै जिल्लामा शाखा सञ्जाल विस्तार गर्ने निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो, जसले १,००० भन्दा बढी सेवा केन्द्रमार्फत सेवा प्रदान गर्दै आएको छ।