सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सद्वारा श्री सन्जीवनी माविका दृष्टिविहीन विद्यार्थीलाई ब्रेल शैक्षिक सामग्री वितरण
वि.सं.२०८२ पुस २२ मंगलवार १६:१८
shares

काठमाडौं, २२ पुस । सानिमा रिलायन्स लाईफ इन्स्योरेन्स लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (सिएसआर) अन्तर्गत काभ्रेपलाञ्चोकको धुलिखेलस्थित श्री सन्जीवनी माध्यमिक विद्यालयमा अध्ययनरत दृष्टि सम्बन्धी अपाङ्गता भएका विद्यार्थीहरूलाई ब्रेल शैक्षिक सामग्री वितरण गरेको छ।
कार्यक्रममा सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सका क्षेत्रीय प्रबन्धक बलराम खत्री तथा एरिया म्यानेजर सनी खाछें श्रेष्ठको उपस्थितिमा विद्यालयलाई उक्त सामग्री हस्तान्तरण गरिएको हो। हाल उक्त विद्यालयमा दृष्टिविहीन २८ जना विद्यार्थी अध्ययनरत छन्।
ब्रेल शैक्षिक सामग्रीले दृष्टिविहीन विद्यार्थीहरूलाई स्वतन्त्र रूपमा पढ्न, लेख्न तथा सिक्न सहयोग पुर्याउने विश्वास कम्पनीले लिएको छ। यसले उनीहरूलाई समान शैक्षिक अवसर प्रदान गर्नुका साथै समावेशी शिक्षाको प्रवर्द्धन र भविष्यमा उच्च शिक्षा तथा रोजगारीका अवसरमा समेत टेवा पुर्याउने अपेक्षा गरिएको छ।
कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत आगामी दिनहरूमा पनि शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण, वित्तीय साक्षरता तथा विपद् व्यवस्थापनजस्ता क्षेत्रमा सक्रिय भूमिका निर्वाह गर्दै समाजप्रतिको उत्तरदायित्वलाई निरन्तर आत्मसात गर्ने जनाएको छ। नाफामुखी व्यवसायसँगै सामाजिक हितलाई समान रूपमा अघि बढाउने कम्पनीको रणनीति रहेको उल्लेख गरिएको छ।
हाल सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सले देशभर १६९ वटा शाखा सञ्जालमार्फत सेवा प्रदान गर्दै आएको छ। कम्पनीको चुक्ता पूँजी ५ अर्ब रुपैयाँभन्दा बढी रहेको छ भने हालसम्म २० अर्ब रुपैयाँभन्दा बढीको लगानी गरिसकेको छ। साथै, देशभर २० हजारभन्दा बढी अभिकर्ताहरू कम्पनीसँग आबद्ध रहेका छन्।

















