Dhulikhel Eco Banner new

लालबकैया नदीको तटबन्ध भत्किने जोखिम, बस्तीमा बाढीको त्रास

858
shares

रौतहट । अविरल वर्षासँगै लालबकैया नदीमा पानीको सतह बढेपछि मौलापुर नगरपालिका – १ स्थित तटबन्ध उच्च जोखिममा परेको छ। नदीको बहाव बढ्दै जाँदा कमजोर बनेको तटबन्ध भत्किन सक्ने सम्भावना बढेपछि मर्यादपुरलगायत आसपासका बस्तीमा बाढीको त्रास बढेको छ।

तटबन्धको समयमै आवश्यक मर्मत तथा संरक्षण हुन नसकेको स्थानीयको गुनासो छ। उनीहरूका अनुसार जोखिम देखिँदै आए पनि सामान्य अवस्थामा तटबन्ध संरक्षणमा पर्याप्त ध्यान नदिने र बाढीको अवस्था आएपछि मात्रै सम्बन्धित निकायको चासो बढ्ने गरेको छ।

लालबकैया नदीको तटबन्ध यस क्षेत्रमा विगतदेखि नै बाढी तथा कटानको जोखिममा पर्दै आएको तथ्यसमेत देखिन्छ। यसअघि पनि मौलापुर – १ मर्यादापुर नजिकै नदीको बाढीले तटबन्ध कटान गरेको र तत्कालीन अवस्थामा बाँसको पाइलिङ तथा बोरा राखेर अस्थायी नियन्त्रणको प्रयास गरिएको थियो।

स्थानीय तहका जनप्रतिनिधि तथा सरोकारवाला निकायले जोखिमयुक्त क्षेत्रमा स्थायी प्रकृतिको संरक्षण तथा मर्मतभन्दा बाढी आएपछि निरीक्षण र सामाजिक सञ्जालमा गतिविधिका तस्वीर सार्वजनिक गर्ने क्रम बढी देखिएको स्थानीयको आरोप छ। उनीहरूले तटबन्धको दीर्घकालीन संरक्षणका लागि तत्काल प्राविधिक अध्ययनसहित आवश्यक काम अघि बढाउन माग गरेका छन्।

यसैबीच, आइतबार बिहान प्रमुख जिल्ला अधिकारी लक्ष्मीप्रसाद पौडेल र जिल्ला प्रहरी प्रमुख सीताराम रिजालको संयुक्त टोलीले मौलापुर – १ स्थित लालबकैया नदीको तटबन्धको स्थलगत निरीक्षण गरेको छ। निरीक्षण टोलीले नदीको जलस्तर, तटबन्धको अवस्था र सम्भावित जोखिमबारे जानकारी लिएको बताइएको छ। निरीक्षणमा स्थानीय जनप्रतिनिधिसमेत सहभागी थिए।

रौतहटमा लालबकैया र बागमती नदीको जलस्तर बढ्दा तटीय क्षेत्रका बस्ती जोखिममा पर्ने गरेको छ। विगतका वर्षमा समेत लालबकैया नदीले मौलापुरसहित विभिन्न स्थानमा तटबन्ध कटान गरेको अभिलेख छ।

अहिलेको मुख्य चुनौती निरीक्षणमा सीमित रहने कि जोखिमयुक्त तटबन्धको तत्काल मर्मत तथा संरक्षण गर्ने भन्ने हो। स्थानीयवासीले सम्भावित विपद् आउनुअघि नै कमजोर स्थान पहिचान गरी आवश्यक सामग्री, जनशक्ति र सुरक्षा संयन्त्र तयारी अवस्थामा राख्न प्रशासन र सम्बन्धित निकायसँग माग गरेका छन्।