राष्ट्र बैंकले ७ अर्ब ३५ करोड रुपैयाँ मुद्दती निक्षेपमा लगानी गर्ने
वि.सं.२०८२ पुस २९ मंगलवार १५:१७
shares

काठमाडौं, २९ पुस । नेपाल राष्ट्र बैंकले आफ्नो उपदान तथा पेन्सन कोषमा रहेको रकम बैंक तथा वित्तीय संस्थामा मुद्दती निक्षेपका रूपमा लगानी गर्ने भएको छ । राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त तथा तोकिएका शर्त पूरा गरेका बैंक तथा वित्तीय संस्थाले प्रस्ताव पेश गर्न सक्नेछन्।
राष्ट्र बैंकका अनुसार कुल लगानी योग्य रकम ७ अर्ब ३५ करोड रुपैयाँ रहेको छ। यसमध्ये “क” वर्गका वाणिज्य बैंकका लागि ५ अर्ब ८८ करोड रुपैयाँ, “ख” वर्गका राष्ट्रिय स्तरका विकास बैंकका लागि १ अर्ब १० करोड २५ लाख रुपैयाँ र “ग” वर्गका राष्ट्रिय स्तरका वित्त कम्पनीका लागि ३६ करोड ७५ लाख रुपैयाँ छुट्याइएको छ।
उक्त रकम २०२६ जनवरी २१ देखि २०२७ जनवरी २१ सम्म ३६६ दिनका लागि मुद्दती निक्षेपका रूपमा राखिनेछ। ब्याजदर प्रस्ताव राष्ट्र बैंकले तोकेको ढाँचामा माघ २ गते बेलुका ७ बजेसम्म पेश गर्नुपर्नेछ।
प्रस्ताव पेश गर्न इच्छुक बैंक तथा वित्तीय संस्था कम्तीमा दुई वर्षदेखि सञ्चालनमा आएको हुनुपर्ने, न्यूनतम पुँजीकोष ९बफरसहित० कायम रहेको, निष्क्रिय कर्जा ८ प्रतिशतभन्दा बढी नहुने तथा खुद निष्क्रिय कर्जा ३ प्रतिशतभित्र रहेको हुनुपर्ने शर्त तोकिएको छ।
त्यसैगरी, खुद तरल सम्पत्ति अनुपात र कर्जा–निक्षेप अनुपात राष्ट्र बैंकले तोकेको सीमाभित्र हुनुपर्ने, पछिल्लो आर्थिक वर्षमा खुद नाफामा रहेको हुनुपर्नेछ। शीघ्र सुधारात्मक कारबाही वा समस्याग्रस्त घोषणा गरिएको भए फुकुवा भएको कम्तीमा ६ महिना पूरा भएको हुनुपर्ने, सर्वसाधारणका लागि शेयर जारी गरिसकेको हुनुपर्ने लगायतका शर्त पनि राखिएको छ।















