पाल्पा सिमेन्टको वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ भर्ने आज अन्तिम दिन
वि.सं.२०८२ पुस ३० बुधवार १०:०४
shares

काठमाडौं, ३० पुस । पाल्पा सिमेन्ट इण्डष्ट्रीज लिमिटेडले आयोजना प्रभावित र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि जारी गरेको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) अन्तर्गत वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आवेदन दिने आज पुस ३० गते अन्तिम दिन रहेको छ।
कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले कुल ७५ लाख कित्ता आईपीओ निष्कासन गर्न नेपाल धितोपत्र बोर्ड ९सेबोन० बाट पुस ९ गते अनुमति पाएको थियो। अनुमति पाएसँगै कम्पनीले पहिलो चरणमा आयोजना प्रभावितका लागि १८ लाख ७५ हजार कित्ता र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि ५ लाख ६२ हजार ५०० कित्ता आईपीओ जारी गरेको हो।
आयोजना प्रभावितका लागि छुट्याइएको आईपीओमा पश्चिम नवलपरासी (साविक नवलपरासी जिल्ला) र खानी क्षेत्र रहेको पाल्पा जिल्लाका स्थानीय बासिन्दाले आवेदन दिन सक्नेछन्। आयोजना प्रभावित र वैदेशिक रोजगारीमा रहेका नेपालीले न्यूनतम १० कित्ता र अधिकतम १ लाख कित्तासम्म आवेदन दिन सक्ने व्यवस्था छ।
आईपीओ निष्कासन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड रहेको छ। इन्फोमेरिक्स क्रेडिट रेटिङ नेपाल लिमिटेडले कम्पनीलाई ‘डबल बी प्लस इस्यूअर’ रेटिङ दिएको छ, जसले समयमै वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यम स्तरको जोखिम रहेको संकेत गर्दछ।
आयोजना प्रभावितले नबिल बैंक, प्रभु बैंक र सिद्धार्थ बैंकका तोकिएका शाखाबाट आवेदन फाराम प्राप्त गरी बुझाउन सक्नेछन् भने वैदेशिक रोजगारीमा रहेका नेपालीले सेबोनबाट अनुमति प्राप्त आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थामार्फत सी–आस्वा प्रणाली प्रयोग गरी आवेदन दिन सक्नेछन्।

















