शिखर पावरको आयोजना प्रभावित र वैदेशिक रोजगारीमा रहेका नेपालीलाई आईपीओ बिक्री खुला
वि.सं.२०८२ माघ ६ मंगलवार १०:१४
shares

काठमाडौं, ६ माघ । शिखर पावर डेभलपमेन्ट लिमिटेडले आज माघ ६ गतेदेखि साधारण शेयर (आईपीओ) बिक्री खुला गरेको छ। कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आईपीओ निष्कासन गरेको हो।
नेपाल धितोपत्र बोर्डबाट गत पुस १६ गते अनुमति पाएअनुसार कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले कुल ३२ लाख कित्ता आईपीओ बिक्री गर्दैछ। यसमध्ये आयोजना प्रभावित स्थानीय बासिन्दाका लागि ९ लाख ८० हजार कित्ता र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि २ लाख २२ हजार कित्ता शेयर छुट्याइएको छ।
आयोजना प्रभाविततर्फ बाग्लुङ जिल्लाको बडिगाड गाउँपालिका वडा नं. १ देखि १० सम्मका सबै वडाका बासिन्दा तथा आयोजनाको विद्युत प्रसारण लाइनबाट प्रभावित ढोरपाटन नगरपालिका वडा नं. २ (साविक बुर्तिवाङ गाविस वडा नं. २, ३, ४ र ५)का स्थानीयले आवेदन दिन सक्नेछन्।
आईपीओमा न्यूनतम १० कित्ता र अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सकिनेछ। वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्कासन छिटोमा माघ ९ गते र ढिलोमा माघ २० गते बन्द हुनेछ भने आयोजना प्रभावित स्थानीयका लागि छिटोमा माघ २० गते र ढिलोमा फागुन ८ गतेसम्म आवेदन दिन सकिनेछ।
आईपीओ निष्कासनका लागि गराइएको रेटिङमा ईक्रा नेपाल लिमिटेडले कम्पनीलाई ‘इक्राएनपी इस्यूअर रेटिङ डबल बी’ प्रदान गरेको छ, जसले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यम स्तरको जोखिम रहेको संकेत गर्दछ। निष्कासन तथा बिक्री प्रबन्धकको काम ग्लोबल आइएमई क्यापिटल लिमिटेडले गर्नेछ।
आयोजना प्रभावितले ग्लोबल आइएमई बैंकको नक्साल, बुर्तिवाङ र बाग्लुङ बजार शाखा, प्रभु बैंकको बडिगाड–५ ग्वालीचौर शाखा, गरिमा विकास बैंक तथा शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको बुर्तिवाङ शाखाबाट आईपीओ फाराम प्राप्त गर्न सक्नेछन्।
शिखर पावरले बाग्लुङमा ४.९६ मेगावाट क्षमताको भिमखोला साना जलविद्युत आयोजना सञ्चालन गरिरहेको छ। आयोजनाको कुल लागत १ अर्ब १९ करोड ९४ लाख रुपैयाँ रहेको छ भने प्रतिमेगावाट लागत २४ करोड १८ लाख रुपैयाँ रहेको छ। आयोजनाको लाइसेन्स अवधि २९.०८ वर्ष बाँकी छ। साधारण लगानी फिर्ता हुने अवधि ८.९२ वर्ष र डिस्काउन्टमा लगानी फिर्ता हुने अवधि १३.६४ वर्ष रहेको कम्पनीले जनाएको छ।















