Dhulikhel Eco Banner new

उपाधिसँगै ‘कार’ र व्यक्तिगत अवार्डको रोमाञ्चक भिडन्त : दीपेन्द्र र रिजन मुख्य दाबेदार

208
shares
काठमाडौँ — नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण शनिबार उपाधि भिडन्तसँगै समापन हुँदैछ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने फाइनलमा साविक विजेता लुम्बिनी लायन्स र लगातार तेस्रो पटक फाइनलमा स्थान बनाएको सुदूरपश्चिम रोयल्स आमनेसामने हुँदैछन् । यो महाभिडन्तले तेस्रो संस्करणको च्याम्पियनको टुङ्गो लगाउने मात्र होइन, प्रतियोगिताभर उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरूले पाउने ‘कार’, मोटरसाइकल र विशेष क्यापको छिनोफानो समेत गर्नेछ ।
‘कार’ पुरस्कारमा दीपेन्द्रको अलराउण्ड प्रदर्शन कि रिजनको विकेट ?
एनपीएलको सबैभन्दा आकर्षक पुरस्कार मानिने ‘कार’ उत्कृष्ट नेपाली खेलाडीलाई प्रदान गरिन्छ । यसपटक सुदूरपश्चिमका कप्तान दीपेन्द्र सिंह ऐरी र चितवन राइनोजका तीव्र गतिका बलर रिजन ढकालबीच मुख्य प्रतिस्पर्धा देखिएको छ । पहिलो सिजनमा दीपेन्द्र र दोस्रो सिजनमा लुम्बिनीका कप्तान रोहित पौडेलले कार जितेका थिए ।
तथ्यांकगत विश्लेषण गर्दा सुदूरपश्चिम तेस्रो स्थानमा सीमित भएको चितवनका रिजन ढकाल ९ खेलमा १७ विकेट लिँदै सर्वाधिक विकेट लिने सूचीको शीर्ष स्थानमा छन् । तर, दीपेन्द्र सिंह ऐरीले ९ खेलमा ३ अर्धशतकसहित २१७ रन बनाउनुका साथै ६ विकेट लिएका छन् । संकटको समयमा टोलीलाई सम्हाल्दै सुदूरपश्चिमलाई लगातार तेस्रो फाइनलमा पुर्‍याएको र अझै एक खेल खेल्न बाँकी रहेकाले दीपेन्द्रको पल्ला भारी देखिन्छ । फाइनलमा दीपेन्द्रले २६ रन मात्र जोडेमा २४२ रन बनाएका लोकेश बमलाई उछिन्दै सर्वाधिक रन बनाउने नेपाली ब्याटर बन्नेछन् । यदि सुदूरपश्चिमले उपाधि उचालेमा दीपेन्द्र दोस्रो पटक कारको हकदार बन्ने बलियो समीकरण छ । उता, लुम्बिनी च्याम्पियन बनेमा ११ विकेट लिएका स्पिनर शेर मल्ल वा फाइनलमा चम्किने अन्य नेपाली खेलाडीले नतिजा उल्टाउन सक्ने सम्भावना पनि जीवितै छ ।
मोटरसाइकल र विशेष क्यापको समीकरण
यस संस्करणमा नेपाली बलरहरूको दबदबा रहँदा ब्याटिङमा भने विदेशी खेलाडी र लिग चरणबाटै बाहिरिएका टोलीका खेलाडीहरू अघि देखिएका छन् । समग्रमा ‘प्लेअर अफ द टुर्नामेन्ट’ सहित उत्कृष्ट ब्याटर, उत्कृष्ट बलर र इमर्जिङ प्लेअरले मोटरसाइकल पुरस्कार पाउनेछन् ।
उत्कृष्ट बलरको दौडमा १७ विकेट लिएका रिजन ढकाललाई सुदूरपश्चिमका स्कट कुगेलेइनले पछ्याइरहेका छन् । १३ विकेट लिएका कुगेलेइनले फाइनलमा ४ विकेट लिएमा रिजनसँग बराबरी गर्नेछन् भने ५ विकेट लिएमा सर्वाधिक विकेटको क्याप र उत्कृष्ट बलरको अवार्ड खोस्नेछन् । ११ विकेट लिएका लुम्बिनीका शेर मल्ल पनि गणितीय दौडमा कायमै छन् ।
ब्याटिङतर्फ २९४ रन बनाएका पोखरा एभेन्जर्सका युवराज सम्रा शीर्ष स्थानमा छन् । उनलाई विराटनगर किंग्सका लोकेश बम (२४२ रन) र सुदूरपश्चिमका दीपेन्द्र सिंह ऐरी (२१७ रन) ले पछ्याइरहेका छन् । फाइनलमा ७८ रनको इनिङ्स खेल्न सके दीपेन्द्रले सम्रालाई समेत उछिन्दै सर्वाधिक रनको क्याप हात पार्नेछन् ।
इमर्जिङ प्लेअरमा तीन युवा स्पिनर र पेसरको टक्कर
नेपाली क्रिकेटको भविष्य मानिने ‘इमर्जिङ प्लेअर’ अवार्डमा जनकपुरका १७ वर्षीय बलर राहुल यादव बलिया दाबेदार हुन् । ट्यालेन्ट हन्टबाट आएर लिग चरणका ७ खेलमै १२ विकेट लिएका राहुलको टोली प्लेअफ पुग्न नसक्दा फाइनल खेल्ने दुई युवा स्पिनरलाई फाइदा पुग्न सक्छ । सुदूरपश्चिमका अनिल खरेल (९ खेलमा १० विकेट) र लुम्बिनीका अभिशेष गौतम (५ खेलमा ७ विकेट) ले फाइनलमा म्याच-विनिङ प्रदर्शन गरेमा राहुललाई पछि पार्दै मोटरसाइकल पुरस्कार जित्न सक्नेछन् ।
तेस्रो संस्करणको फाइनल खेल केवल दुई टोलीबीचको प्रतिष्ठाको लडाइँ मात्र होइन, व्यक्तिगत तथ्यांक र पुरस्कारको निर्णायक घडी पनि हो । कीर्तिपुर मैदानमा शनिबार दीपेन्द्रको ब्याट चल्छ वा शेर मल्ल, अनिल खरेल र स्कट कुगेलेइनको बलले जादु देखाउँछ, त्यसैले नै एनपीएल सिजन ३ को पुरस्कार मञ्चको अन्तिम स्वरूप तय गर्नेछ ।