Dhulikhel Eco Banner new

गरिमा विकास बैंकको खुद नाफा ८.४६ प्रतिशतले वृद्धि

2.6K
shares

काठमाडौं, १५ माघ । गरिमा विकास बैंक लिमिटेडले चालू आर्थिक वर्षको पहिलो ६ महिनामा खुद नाफा ८.४६ प्रतिशतले वृद्धि गर्न सफल भएको छ। बैंकको खुद नाफा गत आवको सोही अवधिको ५५ करोड ५८ लाख रुपैयाँबाट बढेर ६० करोड ३८ लाख रुपैयाँ पुगेको छ।

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी १ अर्ब ८४ करोड ४६ लाख रुपैयाँबाट बढेर १ अर्ब ८८ करोड ४ लाख रुपैयाँ पुगेको छ। यसैगरी, खुद फी तथा कमिशन आम्दानी पनि २३ करोड ८० लाख रुपैयाँबाट वृद्धि भई २७ करोड ७४ लाख रुपैयाँ पुगेको छ।

बैंकको कुल सञ्चालन आम्दानी २ अर्ब १० करोड ८९ लाख रुपैयाँबाट बढेर २ अर्ब २३ करोड १३ लाख रुपैयाँ पुगेको छ। सञ्चालन आम्दानी बढेसँगै सञ्चालन नाफा पनि ७८ करोड ५० लाख रुपैयाँबाट बढेर ९० करोड ६८ लाख रुपैयाँ पुगेको छ।

यस अवधिमा बैंकको वितरणयोग्य मुनाफा उल्लेख्य रूपमा वृद्धि भई १४ करोड ७६ लाख रुपैयाँबाट ३० करोड ८४ लाख रुपैयाँ पुगेको छ। बैंकको प्रतिशेयर आम्दानी १९.३४ रुपैयाँबाट बढेर २१.१० रुपैयाँ पुगेको छ।

बैंकको खराब कर्जा (एनपीएल) भने सामान्य रूपमा बढेर ४.७२ प्रतिशतबाट ४.७८ प्रतिशत पुगेको छ। प्रतिशेयर नेटवर्थ १५९.५९ रुपैयाँ रहेको बैंकको मूल्य आम्दानी अनुपात १८.५३ गुणा रहेको छ।

६ अर्ब २ करोड रुपैयाँ चुक्ता पूँजी रहेको गरिमा विकास बैंकको जगेडा कोषमा ३० करोड रुपैयाँ र अन्य रिजर्भमा ३ अर्ब २८ करोड रुपैयाँ सञ्चित छ। बैंकले हालसम्म ७२ अर्ब ९४ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ भने ९१ अर्ब २७ करोड रुपैयाँ निक्षेप संकलन गरेको छ।