कर्जा सस्तो भए पनि प्रवाह सुस्त, बैंकमा निक्षेप बढेर तरलता ७६ खर्ब पुग्यो
वि.सं.२०८२ माघ २७ मंगलवार १४:३७
shares

काठमाडौं, २७ माघ । चालु आर्थिक वर्ष २०८२/८३ को बजेटको अर्धवार्षिक मूल्यांकन प्रतिवेदन सार्वजनिक गर्दै अर्थ मन्त्रालयले बैंक तथा वित्तीय प्रणालीमा अत्यधिक तरलता देखिएको जनाएको छ । कर्जा प्रवाह सुस्त रहँदा बैंकहरूमा लगानीयोग्य रकम थुप्रिएको र त्यसको असर ब्याजदरमा स्पष्ट रूपमा देखिएको छ ।
सरकारी तथ्यांकअनुसार वाणिज्य बैंकहरूको कर्जाको औसत ब्याजदर एकल अंकमा झरेर ७.१२ प्रतिशतमा सीमित भएको छ । अघिल्लो वर्षको पुस मसान्तमा यस्तो ब्याजदर ८.६९ प्रतिशत थियो । एक वर्षको अवधिमा कर्जाको ब्याजदर करिब १.५ प्रतिशत बिन्दुले घटेको हो । विकास बैंकहरूको कर्जा ब्याजदर ८.३४ प्रतिशत र वित्त कम्पनीहरूको ९.७३ प्रतिशतमा झरेको छ ।
कर्जा सस्तो भएसँगै निक्षेपकर्ताले पाउने ब्याजदर पनि घटेको छ । वाणिज्य बैंकहरूको निक्षेपको भारित औसत ब्याजदर ३.५६ प्रतिशतमा सीमित भएको छ, जुन अघिल्लो वर्ष ४.७५ प्रतिशत थियो ।
चालु आर्थिक वर्षको पहिलो ६ महिनामा बैंक तथा वित्तीय संस्थाहरूमा निक्षेप संकलन उत्साहजनक देखिए पनि कर्जा प्रवाह भने त्यसको तुलनामा निकै सुस्त रहेको छ । समीक्षा अवधिमा कुल निक्षेप ४ खर्ब १७ अर्ब ४८ करोड रुपैयाँले बढेर ७६ खर्ब ८१ अर्ब ३५ करोड रुपैयाँ पुगेको छ, जुन ५.७ प्रतिशतको वृद्धि हो । तर सोही अवधिमा निजी क्षेत्रतर्फ जाने कर्जा भने १ खर्ब ९७ अर्ब ४७ करोड रुपैयाँले मात्र बढेको छ । हाल निजी क्षेत्रमा कुल ५६ खर्ब ९५ अर्ब १७ करोड रुपैयाँ कर्जा प्रवाह भएको छ ।
छ महिनामा ४ खर्बभन्दा बढी निक्षेप संकलन हुँदा २ खर्ब पनि कर्जा नजानुले बजारमा कर्जाको माग कमजोर रहेको र बैंकहरूमा तरलता थुप्रिएको संकेत गरेको छ ।
बजारमा अत्यधिक तरलता भएपछि नेपाल राष्ट्र बैंकले विभिन्न मौद्रिक उपकरण प्रयोग गरी पैसा तानेको छ । समीक्षा अवधिमा राष्ट्र बैंकले निक्षेप संकलन बोलकबोल र स्थायी निक्षेप सुविधामार्फत खुद २८६ खर्ब ९९ अर्ब रुपैयाँ बराबरको तरलता प्रशोचन गरेको छ । अघिल्लो वर्ष सोही अवधिमा यस्तो प्रशोचन १३९ खर्ब ९९ अर्ब रुपैयाँ बराबरको थियो ।
तरलता पर्याप्त हुँदा बैंकहरूबीचको अन्तरबैंक ब्याजदर घटेर २.७५ प्रतिशतमा झरेको छ भने ९१ दिने ट्रेजरी बिलको ब्याजदर पनि २.३५ प्रतिशतमा सीमित भएको छ ।
अर्थतन्त्रमा मुद्रा आपूर्तिको अवस्था हेर्दा चालु आर्थिक वर्षमा विस्तृत मुद्रा आपूर्ति ५.४ प्रतिशतले बढेको छ, जब कि अघिल्लो वर्ष यस्तो वृद्धिदर ३.९ प्रतिशत मात्र थियो । बैंक तथा वित्तीय संस्थाहरूको कुल निक्षेप संरचनामा मुद्दती निक्षेपको हिस्सा सबैभन्दा बढी ४२.८ प्रतिशत र बचत निक्षेपको हिस्सा ४१.३ प्रतिशत रहेको छ । चल्ती निक्षेपको हिस्सा भने ६.९ प्रतिशतमा सीमित रहेको अर्थ मन्त्रालयको प्रतिवेदनमा उल्लेख छ ।















