Dhulikhel Eco Banner new

रिज लाइन इनर्जीको सर्वसाधारणका लागि आईपीओ खुल्ला

2.39K
shares

काठमाडौं, २८ माघ । रिज लाइन इनर्जी लिमिटेडले आज माघ २८ गतेदेखि सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गरेको छ। पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आईपीओ निष्काशन गरी बाँडफाँड गरिसकेकोले अब दोस्रो चरणमा सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गरेको हो।

कम्पनीले जारी पुँजी १ अर्ब १८ करोड ५० लाख रूपैयाँको २२ प्रतिशत अर्थात २६ करोड ७ लाख रूपैयाँ बराबरको २६ लाख ७ हजार कित्ता शेयर निष्काशन गर्ने अनुमति नेपाल धितोपत्र बोर्डबाट पाएको थियो। जसमध्ये ११ लाख ८५ हजार कित्ता शेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरूका लागि र १ लाख ४२ हजार २०० कित्त शेयर विदेशमा रोजगारीमा रहेका नेपालीहरूका लागि निष्काशन गरी बाँडफाँड समेत गरिसकेको छ।

अब कम्पनीले दोस्रो चरणमा बाँकी शेयरमध्ये २८ हजार ४४० कित्ता शेयर कम्पनीमा कार्यरत कर्मचारीहरूका लागि र ७१ हजार १०० कित्ता शेयर सामूहिक लगानी कोषहरूका लागि छुट्याएर बाँकी रहेको ११ करोड ८० लाख २६ हजार रूपैयाँ बराबरको प्रतिशेयर १०० रूपैयाँ दरका कुल ११ लाख ८० हजार २६० कित्ता शेयर सर्वसाधारण लगानीकर्ताहरूका लागि बिक्री खुला गरेको हो।

यो आईपीओका लागि आवेदन दिंदा न्यूनतम १० कित्ताका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा ५० हजार कित्तासम्मका लागि आवेदन दिन सकिने व्यवस्था गरिएको छ। कम्पनीको आइपिओमा फागुन ४ गतेसम्म आवेदन दिन सकिनेछ सो समयसम्म सम्पूर्ण कित्ताको लागि आवेदन नपरेमा बिक्री अवधि फागुन १३ गतेसम्म लम्बिनेछ।

आईपीओ निष्काशनका लागि गराएको रेटिङ्गमा रेटिङ्ग संस्टा केयर रेटिङ्ग नेपालले कम्पनीलाई “केयरएनपी डबल बी इस्यूअर रेटिङ्ग” प्रदान गरेको छ। यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम स्तरको जोखिम रहेको संकेत गर्दछ। कम्पनीको शेयर निष्कासन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड रहेको छ।