७० वर्षको चीन–नेपाल मित्रताः नेपाल अध्ययन केन्द्रको अनुसन्धान कृति सार्वजनिक
वि.सं.२०८२ फागुन ३ आइतवार १०:३९
shares

काठमाडौं, ३ फागुन । चीन–नेपाल कूटनीतिक सम्बन्ध स्थापना भएको ७० वर्ष पूरा भएको अवसरमा प्रकाशित पुस्तक “Friendship Across the Himalayas: A Visual Chronicle of 70 Years of China–Nepal Diplomatic Relations (1955–2025)” सार्वजनिक गरिएको छ।
पूर्वी चीन प्राविधिक विश्वविद्यालयअन्तर्गतको नेपाल अध्ययन केन्द्र (Center for Nepal Studies) को अनुसन्धान पहलमा तयार गरिएको उक्त कृतिले सन् १९५५ देखि २०२५ सम्मका दुई देशबीचका ऐतिहासिक, राजनीतिक, आर्थिक तथा सांस्कृतिक सम्बन्धलाई दृश्य सामग्रीमार्फत समेटेको छ।
पुस्तकका सम्पादकहरूमा लिउ युमिङ, डा। सरोज गौतम, तारा बनियादे र झाङ मिंग रहेका छन्। प्रकाशनमा दुई देशबीच भएका उच्चस्तरीय भ्रमण, महत्वपूर्ण सम्झौता, विकास सहकार्यका परियोजना तथा जनस्तरका आदान–प्रदानका झलकहरू समावेश गरिएको छ।
सम्पादक मण्डलका अनुसार, पुस्तकले हिमालयपार मित्रताको सात दशक लामो यात्रालाई तथ्य, तस्वीर र अभिलेखमार्फत दस्तावेजीकरण गर्दै भावी पुस्ताका लागि सन्दर्भ सामग्रीको रूपमा काम गर्ने अपेक्षा गरिएको छ।
चीन र नेपालबीच सन् १९५५ मा औपचारिक कूटनीतिक सम्बन्ध स्थापना भएको थियो। त्यसयता दुई देशबीच पारस्परिक सम्मान, सहकार्य र विश्वासमा आधारित सम्बन्ध विस्तार हुँदै आएको छ।
पुस्तक सार्वजनिक कार्यक्रममा कूटनीतिज्ञ, प्राध्यापक, अनुसन्धानकर्ता तथा विभिन्न क्षेत्रका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो। वक्ताहरूले चीन–नेपाल सम्बन्धलाई अझ सुदृढ बनाउन शैक्षिक तथा सांस्कृतिक सहकार्यको भूमिका महत्वपूर्ण रहने धारणा व्यक्त गरेका थिए।


















