Dhulikhel Eco Banner new

बाढीले बगाएको सेफ फोडेर ९२ लाख लुट्ने २९ जना पक्राउ

286
shares

रसुवाको भोटेकोशी नदीमा आएको बाढीले बगाएर ल्याएको सेफ (तिजोरी) फुटाएर रकम लुट्ने २९ जनालाई प्रहरीले पक्राउ गरेको छ। त्रिशूली नदी किनारमा भेटिएको उक्त सेफ फोडेर नगद चोरेको आरोपमा उनीहरूलाई धादिङबाट नियन्त्रणमा लिइएको हो।

जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार, पक्राउ परेकाहरूको साथबाट ९२ लाख ६८ हजार ५०५ रुपैयाँ बरामद गरिएको छ। भदौ १० गतेको बाढीले बगाएको उक्त सेफ धादिङको गल्छी गाउँपालिका–४, बेल्खुखोलास्थित त्रिशूली किनारमा बेवारिसे अवस्थामा भेटिएको थियो। स्थानीयले तिजोरी फोडेर रकम बाँडेर लिएको गोप्य सूचनाका आधारमा शुक्रबार खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा अधिकांश गल्छी गाउँपालिका वडा नम्बर ४ र ६ का स्थानीय छन्। त्यसबाहेक सिद्धलेक गाउँपालिका तथा चितवन र पर्सा घर भई हाल गल्छीको आदमघाट क्षेत्रमा बस्दै आएका केही व्यक्तिहरू पनि पक्राउ परेका छन्।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रकाश दाहालका अनुसार, बरामद गरिएको उक्त विशाल रकमको आधिकारिक स्रोत के हो र यस लुटपाटमा अन्य व्यक्तिको पनि संलग्नता छ वा छैन भन्ने विषयमा थप अनुसन्धान अगाडि बढाइएको छ।