Dhulikhel Eco Banner new

नेपालका २४ प्रमुख सहर भासिने उच्च जोखिममा : भूमिगत जलको दोहन मुख्य कारण

312
shares

काठमाडौँ — बाढी, पहिरो र भूकम्पको जोखिम खेप्दै आएको नेपालमा पछिल्लो समय जमिन भासिने (सिङ्कहोल) नयाँ र गम्भीर विपत्ति देखा पर्न थालेको छ। केही समयअघि मकवानपुरको हेटौँडास्थित गैरीगाउँमा गुडिरहेको गाडी नै बेपत्ता हुने गरी ११ मिटर गहिरो खाडल बन्नुले यो जोखिमको भयावह अवस्थालाई सतहमा ल्याइदिएको छ।

खानी तथा भूगर्भ विभागले वि.सं. २०५५ सालयता गरेको भौगर्भिक अध्ययनअनुसार, नेपालका पहाडदेखि तराईसम्मका २४ वटा मुख्य सहरहरू जमिन भासिने उच्च जोखिम (रेड जोन) मा छन्। यसरी जोखिममा परेका सहरहरूमा काठमाडौँ उपत्यकासहित कोशीका विराटनगर र धरान, मधेसका जनकपुर र वीरगन्ज, गण्डकीको पोखरा, लुम्बिनीका बुटवल र भैरहवादेखि सुदूरपश्चिमको धनगढीसम्मका घना बस्ती तथा व्यापारिक केन्द्रहरू रहेका छन्।

वरिष्ठ भूगर्भविद् प्रा. डा. मेघराज धितालका अनुसार जमिन भासिनुका पछाडि प्राकृतिक र मानवीय गरी दुई मुख्य कारण छन्। पोखरा जस्ता क्षेत्रमा जमिनमुनिको चुनढुङ्गा पग्लेर प्राकृतिक रूपमै खोक्रो गुफाहरू बन्ने र जमिन धसिने गर्छ। तर, काठमाडौँ, वीरगन्ज, बुटवललगायतका अधिकांश सहरहरूमा भने मानवीय अतिक्रमण र अव्यवस्थित सहरीकरण नै मुख्य कारक रहेको विज्ञहरूको निष्कर्ष छ।

पछिल्लो समय सहरी क्षेत्रमा ‘डिप बोरिङ’ मार्फत भूमिगत पानीको अन्धाधुन्ध दोहन भइरहेको छ। जमिनमुनिको पानी रित्तिँदा त्यहाँ ‘भ्याकुम’ (खाली ठाउँ) बन्ने र त्यसले माथिबाट थपिएको कंक्रिटका गगनचुम्बी भवनहरूको भार थाम्न नसक्दा एक्कासि जमिन भासिने गरेको हो। त्यसमाथि जताततै पिच र ढलान गरिएका कारण आकाशे पानी जमिनमुनि रसाएर जान नपाउँदा भूमिगत जलको सतह निरन्तर घटिरहेको छ। २०७२ सालको भूकम्पपछि काठमाडौँका कलङ्की, बल्खुलगायतका क्षेत्रमा जमिन केही सेन्टिमिटर धसिएको सरकारी अध्ययनले नै देखाएको थियो। छिमेकी राष्ट्र चीनका कतिपय सहरहरू पनि यही कारणले वार्षिक रूपमा धसिँदै गएका छन्।

सहरी योजनाकार र भूगर्भविद्हरूका अनुसार यो महाविपत्ति रोक्ने एक मात्र वैज्ञानिक र प्रभावकारी विकल्प ‘आकाशे पानीको कृत्रिम पुनर्भरण’ (Rainwater Recharge) हो। वर्षायाममा खेर जाने पानीलाई सङ्कलन गरी फिल्टरमार्फत पुनः जमिनमुनि पठाउन सके यसले भूमिगत पानीको सतह सन्तुलनमा राख्न मद्दत गर्छ। यस महाविनाशबाट सहरलाई जोगाउन सरकार र स्थानीय तहले नयाँ घर तथा भवनको नक्सा पास गर्दा नै ‘आकाशे पानी पुनर्भरण प्रणाली’ निर्माणलाई अनिवार्य गर्नुपर्ने विज्ञहरूको सुझाव छ।