रिज लाइन इनर्जीको आईपीओमा आवेदन दिने भोलि अन्तिम दिन
वि.सं.२०८२ फागुन ३ आइतवार १५:५२
shares

काठमाडौं, ३ फागुन । रिज लाइन इनर्जी लिमिटेड ले सर्वसाधारणका लागि निष्काशन गरेको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) मा आवेदन दिने भोलि अन्तिम दिन रहेको छ। कम्पनीले माघ २८ गतेदेखि आईपीओ खुला गरेको हो।
यसअघि कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि छुट्याइएको शेयर निष्काशन गरी बाँडफाँड गरिसकेको छ। हाल दोस्रो चरणअन्तर्गत सर्वसाधारण लगानीकर्ताका लागि शेयर निष्काशन भइरहेको छ।
कम्पनीले जारी पूँजी १ अर्ब १८ करोड ५० लाख रुपैयाँको २२ प्रतिशत बराबर २६ करोड ७ लाख रुपैयाँ मूल्यका २६ लाख ७ हजार कित्ता साधारण शेयर निष्काशन गर्ने अनुमति पाएको थियो। जसमध्ये ११ लाख ८५ हजार कित्ता आयोजना प्रभावित स्थानीयका लागि र १ लाख ४२ हजार २०० कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि छुट्याएर वितरण गरिसकिएको छ।
दोस्रो चरणमा २८ हजार ४४० कित्ता कर्मचारीका लागि र ७१ हजार १०० कित्ता सामूहिक लगानी कोषका लागि छुट्याइएको छ। बाँकी रहेको ११ करोड ८० लाख २६ हजार रुपैयाँबराबरको प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका ११ लाख ८० हजार २६० कित्ता साधारण शेयर सर्वसाधारणका लागि निष्काशन गरिएको हो।
लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्तासम्म आवेदन दिन सक्नेछन्।
आईपीओ निष्काशन प्रयोजनका लागि केयर रेटिङ्ग नेपाल ले कम्पनीलाई ‘केयर–एनपी डबल बी (इस्युअर) रेटिङ’ प्रदान गरेको छ, जसले कम्पनीको दायित्व बहन क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ।
कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले नेपाल धितोपत्र बोर्ड बाट स्वीकृति प्राप्त सी–आस्बा सदस्य बैंक तथा वित्तीय संस्था तथा सीडीएस एण्ड क्लियरिङ्ग लिमिटेड को ‘मेरो शेयर’ प्रणालीमार्फत आवेदन दिन सक्नेछन्।















