Dhulikhel Eco Banner new

पाल्पा सिमेन्टको आईपीओ सर्वसाधारणका लागि खुला

4.16K
shares

काठमाडौं, १२ फागुन । पाल्पा सिमेन्ट इण्डष्ट्रीज लिमिटेडले आजदेखि सर्वसाधारणका लागि प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) बिक्री खुला गरेको छ। कम्पनीले पहिलो चरणमा उद्योग प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई शेयर बाँडफाँड गरिसकेपछि दोस्रो चरणअन्तर्गत सर्वसाधारणका लागि आईपीओ जारी गरेको हो।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका कुल ७५ लाख कित्ता शेयर निष्काशन गर्न नेपाल धितोपत्र बोर्ड बाट अनुमति पाएको थियो। जसमध्ये १८ लाख ७५ हजार कित्ता उद्योग प्रभावित क्षेत्रका स्थानीयलाई र ५ लाख ६२ हजार ५०० कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई वितरण गरिसकिएको कम्पनीले जनाएको छ।

बाँकी शेयरमध्ये २ लाख ८१ हजार २५० कित्ता सामूहिक लगानी कोषका लागि तथा सोही परिमाणको शेयर कम्पनीका कर्मचारीहरूका लागि सुरक्षित गरिएको छ। यी व्यवस्था पश्चात् बाँकी रहेको ४५ लाख कित्ता शेयर सर्वसाधारणका लागि बिक्री खुला गरिएको हो।

आईपीओमा न्यूनतम १० कित्ता र अधिकतम १ लाख कित्तासम्म आवेदन दिन सकिनेछ। निष्काशन छिटोमा फागुन १५ गते बन्द हुने छ भने सो अवधिसम्म पर्याप्त आवेदन नपरेमा फागुन २६ गतेसम्म खुला रहनेछ। कम्पनीका अनुसार बाँडफाँड प्रक्रियामा करिब ४ लाख ५० हजार आवेदकले १०/१० कित्ताका दरले शेयर प्राप्त गर्ने अनुमान गरिएको छ।

कम्पनीको आईपीओलाई इन्फोमेरिक्स क्रेडिट रेटिङ्ग नेपाल ले “आईआरएन डबल बी प्लस इस्यूअर रेटिङ्ग” प्रदान गरेको छ, जसले कम्पनीको दायित्व वहन क्षमतामा मध्यम स्तरको जोखिम रहेको संकेत गर्दछ।

आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकको जिम्मेवारी नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग रहेको छ।