निर्वाचन बिदामा पनि इन्धन अभाव नहुने, आयल निगमका कार्यालय खुला
वि.सं.२०८२ फागुन १७ आइतवार १७:४०
shares

काठमाडौं, १७ फागुन । प्रतिनिधिसभा निर्वाचनका लागि सरकारले घोषणा गरेको सार्वजनिक बिदाका दिनमा पनि पेट्रोलियम पदार्थको अभाव नहुने भएको छ।
नेपाल आयल निगमले निर्वाचन अवधिमा इन्धनको सहज आपूर्ति कायम राख्न आफ्ना केही प्रादेशिक कार्यालय, डिपो तथा शाखा कार्यालयहरू खुला राख्ने निर्णय गरेको जनाएको छ। आगामी फागुन १९ देखि २२ गतेसम्म लागू हुने सार्वजनिक बिदाका समयमा पनि सेवाग्राहीलाई पेट्रोलियम पदार्थ उपलब्ध गराइने निगमले स्पष्ट पारेको छ।
आइतबार जारी विज्ञप्तिअनुसार देशभर आपूर्ति तथा वितरण प्रणाली नियमित राख्न आवश्यक कार्यालयहरू निश्चित तालिकाअनुसार सञ्चालन गरिनेछ। निर्वाचन अवधिमा यातायात, अत्यावश्यक सेवा तथा सर्वसाधारण उपभोक्तालाई इन्धन अभाव हुन नदिन विशेष व्यवस्था मिलाइएको निगमले जनाएको छ।
निगमले पेट्रोलियम पदार्थको वितरण प्रभावकारी बनाउन सम्बन्धित निकाय तथा व्यवसायीसँग समन्वय गरेर आवश्यक व्यवस्थापन गरिने समेत जानकारी दिएको छ।















