निर्वाचन अवधिमा पनि बैंकिङ सेवा सञ्चालन हुने
वि.सं.२०८२ फागुन १८ सोमवार ०९:५८
shares

काठमाडौं, १८ फागुन । प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गर्दै नेपाल राष्ट्र बैंकले सार्वजनिक बिदाका दिनमा समेत बैंक तथा वित्तीय संस्थाहरू सञ्चालन गर्न निर्देशन दिएको छ।
सरकारले प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि फागुन २०, २१ र २२ गते सार्वजनिक बिदा घोषणा गरेको छ। यसअघि फागुन १८ गते हिमाली तथा पहाडी जिल्लामा तथा फागुन १९ गते तराईका जिल्लामा होली पर्वका अवसरमा सार्वजनिक बिदा रहनेछ। लगातार बिदाका कारण वित्तीय कारोबार प्रभावित नहोस् भन्ने उद्देश्यले केन्द्रीय बैंकले यस्तो व्यवस्था गरेको हो।
राष्ट्र बैंकको निर्देशनअनुसार बैंक तथा वित्तीय संस्थाहरूले बिदाको अवधिमा पनि अत्यावश्यक बैंकिङ सेवा उपलब्ध गराउनुपर्नेछ। विशेषगरी निर्वाचन प्रचारप्रसारका क्रममा राजनीतिक दल तथा उम्मेदवारहरूको बैंक खातामार्फत हुने नगद, चेक वा अन्य विनिमय साधनद्वारा दाखिला तथा भुक्तानीसम्बन्धी सेवा नियमित रूपमा सञ्चालन गर्नुपर्ने उल्लेख गरिएको छ।















