Dhulikhel Eco Banner new

मध्यपूर्व तनावको असरः त्रिभुवन विमानस्थलबाट १४ अन्तर्राष्ट्रिय उडान रद्द

3.89K
shares

काठमाडौं, १८ फागुन । मध्यपूर्वमा चुलिँदै गएको सैन्य तनावको प्रत्यक्ष असर नेपालका अन्तर्राष्ट्रिय उडानमा परेको छ । आइतबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सञ्चालन हुने १४ अन्तर्राष्ट्रिय उडान रद्द गरिएका छन् ।

अमेरिका र इजरायलले इरानमाथि गरेको सैन्य आक्रमण तथा त्यसको प्रत्युत्तरमा इरानले मध्यपूर्वस्थित अमेरिकी सैन्य अड्डाहरू लक्षित गरी प्रहार गरेपछि क्षेत्रीय हवाई सुरक्षा अवस्था जटिल बनेको हो । बढ्दो जोखिमका कारण मध्यपूर्वतर्फका हवाई मार्ग अनिश्चित बनेपछि उडान स्थगित गरिएको विमानस्थलले जनाएको छ ।

विमानस्थल प्रशासनका अनुसार नेपालबाट मध्यपूर्व जाने र त्यहाँबाट काठमाडौं आउने सबै उडान अर्को सूचना जारी नभएसम्मका लागि रोकिएका छन् । जजिरा एयरवेज, कुवेत एयरवेज, एयर अरेबिया, फ्लाई दुबई, नेपाल एयरलाइन्स, कतार एयरवेज तथा हिमालय एयरलाइन्सका उडान प्रभावित भएका छन् ।

उडान रद्द भएपछि वैदेशिक रोजगारी, भ्रमण तथा पारिवारिक कारणले यात्रा तय गरेका हजारौँ यात्रु समस्यामा परेका छन् । केही यात्रु विमानस्थलमै रोकिएका छन् भने धेरैले टिकट मिति परिवर्तन वा रकम फिर्ताका लागि सम्बन्धित एयरलाइन्ससँग समन्वय गरिरहेका छन् ।

मध्यपूर्वका सात प्रमुख अन्तर्राष्ट्रिय विमानस्थलबाट मात्रै करिब ३ हजार ४ सय उडान रद्द भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् । कुवेत, संयुक्त अरब इमिरेट्स, कतार, इरान, इराक, जोर्डन, इजरायल, लेबनान र बहराइनलगायत मुलुकले सुरक्षा कारण देखाउँदै आफ्नो हवाई क्षेत्र अस्थायी रूपमा बन्द गरेका छन् ।

यस तनावले विश्वव्यापी हवाई सेवामा समेत असर पार्न थालेको छ । सामान्यतया मध्यपूर्व हुँदै सञ्चालन हुने युरोप–एसिया तथा अफ्रिका–एसिया उडानहरूले वैकल्पिक मार्ग प्रयोग गर्न थालेपछि उडान समय लम्बिने र सञ्चालन लागत बढ्ने अनुमान गरिएको छ ।

क्षेत्रमा आक्रमण र प्रतिआक्रमणको अवस्था जारी रहेकाले उडान कहिलेदेखि नियमित हुने भन्ने स्पष्ट हुन सकेको छैन । यात्रुहरूलाई आधिकारिक सूचना नियमित रूपमा हेर्न तथा सम्बन्धित एयरलाइन्ससँग सम्पर्कमा रहन आग्रह गरिएको छ ।