काठमाडौंमा वायु प्रदूषण अझै अस्वस्थ तहमा, विश्वका प्रदूषित सहरमध्ये छैटौं स्थानमा
वि.सं.२०८२ फागुन २८ बिहीवार ०९:०१
shares

काठमाडौं, २८ फागुन । राजधानी काठमाडौंमा वायु प्रदूषणको अवस्था अझै सुधार हुन सकेको छैन। पछिल्ला केही दिनयता बढेको वायु प्रदूषण आज पनि अस्वस्थ तहमै कायम रहेको छ।
स्विट्जरल्याण्डस्थित वायु गुणस्तर मापन गर्ने संस्था आईक्यू एयर का अनुसार आज बिहान ६:१७ बजेसम्म काठमाडौंको वायु गुणस्तर सूचकांक १८५ पुगेको छ। सामान्यतया १५० भन्दा माथिको सूचकांकलाई अस्वस्थ मानिन्छ।
नेपाल सरकारले स्वीकृत गरेको वायु गुणस्तर सूचकांकअनुसार ० देखि ५० सम्मको अवस्था राम्रो, ५१ देखि १०० मध्यम, १०१ देखि १५० संवेदनशील समूहका लागि अस्वस्थ, १५१ देखि २०० अस्वस्थ, २०१ देखि ३०० निकै अस्वस्थ र ३०१ भन्दा माथि पुगेमा खतरनाक तहमा पुगेको मानिन्छ।
यस सूचकांकअनुसार अहिले काठमाडौंको अवस्था अस्वस्थ श्रेणीमा परेको छ, जसले विशेषगरी बालबालिका, वृद्धवृद्धा तथा श्वासप्रश्वाससम्बन्धी समस्या भएका व्यक्तिहरूलाई बढी असर पार्न सक्छ।
विश्वका प्रदूषित सहरहरूको सूचीअनुसार आज काठमाडौं समग्रमा छैटौं स्थानमा रहेको छ। पहिलो स्थानमा तास्केन्त, दोस्रो स्थानमा हनोई, तेस्रो स्थानमा लाहोर, चौथो स्थानमा दिल्ली र पाँचौं स्थानमा कोलकाता रहेका छन्। यसअघि अग्रस्थानमा रहेको ढाका भने अहिले १०औँ स्थानमा झरेको छ।
वायु प्रदूषण बढेपछि सरोकारवाला निकायहरूले सर्वसाधारणलाई सचेत रहन आग्रह गरेका छन्। अत्यावश्यक कामबाहेक बाहिर ननिस्किन र बाहिर निस्कनु परेमा मास्क प्रयोग गर्न स्वास्थ्यविद्हरूले सुझाव दिएका छन्। साथै संवेदनशील समूहलाई विशेष सावधानी अपनाउन पनि आग्रह गरिएको छ।















