Dhulikhel Eco Banner new

पुँजी बजार जोगाउन आत्मविश्वास बढाउने नीति ल्याउन सरकारलाई आग्रह

1.81K
shares

काठमाडौं, २३ चैत । राष्ट्रिय सभामा कृष्णबहादुर रोकायाले शेयर बजारको वर्तमान अवस्थाप्रति गम्भीर चिन्ता व्यक्त गर्दै सरकारको ध्यानाकर्षण गराएका छन्।

सोमबार बसेको राष्ट्रिय सभा बैठकको शून्य समयमा बोल्दै उनले बजारमा सरकारकै कारण त्रासको वातावरण सिर्जना भएको दाबी गरे। यस्तो अवस्थाले ठूला लगानीकर्ताहरू पलायन हुने खतरा बढेको उनको भनाइ थियो।

उनले पछिल्लो समय सेयर बजारमा देखिएको निरन्तर गिरावटले लगानीकर्ताहरूमा नकारात्मक सन्देश प्रवाह गरिरहेको उल्लेख गर्दै यसलाई रोक्न सरकारले तत्काल विशेष कदम चाल्नुपर्ने माग राखे। नयाँ र बलियो सरकार गठनसँगै उद्योगी तथा व्यवसायीहरूमा सुरुमा उत्साह देखिए पनि पछिल्ला केही सरकारी कदमले उनीहरूलाई सशङ्कित बनाएको उनले बताए।

सरकारले उद्योगी–व्यवसायीमाथि चालेका केही कारबाहीका कारण पुँजी बजार अब उकालो लाग्न सक्दैन भन्ने धारणा निर्माण भएको रोकायाको भनाइ छ। यही त्रास र नकारात्मक मनोविज्ञानका कारण नेप्सेमा लगातार गिरावट देखिएको भन्दै उनले स्टक ब्रोकर एसोसिएसनको विश्लेषणसमेत सदनमा प्रस्तुत गरेका थिए।

उनका अनुसार हालसम्म सेयर बजारका लगानीकर्ताले करिब ३ खर्ब रुपैयाँ बराबरको नोक्सानी व्यहोरेका छन्। बजारमा बढ्दो अनिश्चितता र डरका कारण ठूला व्यवसायीहरू बजारबाटै बाहिरिन सक्ने अवस्था आउनु समग्र अर्थतन्त्रका लागि घातक हुने उनले चेतावनी दिए।

सांसद रोकायाले सरकारलाई यस विषयमा गम्भीर बन्न, लगानीकर्ताको विश्वास पुनःस्थापित गर्न र पुँजी बजारमा स्थिरता ल्याउने नीतिगत कदम चाल्न आग्रह गरेका छन्।