Dhulikhel Eco Banner new

चैते दशैंको अवसरमा बाग्लुङ समाज बेल्जियम द्वारा भव्य मेला आयोजना

4.42K
shares

काठमाडौं, २५ चैत । बेल्जियमको लुभेन शहरमा बाग्लुङ समाज बेल्जियमले चैते दशैंको अवसर पारेर चैत्राष्टमी मेला भव्य रूपमा आयोजना गरेको छ। कार्यक्रममा बेनेलक्स क्षेत्रका लागि नेपाली राजदूत सेवा लम्साल प्रमुख अतिथिको रूपमा उपस्थित रहिन्।

राजदूत लम्सालले विदेशमा रहेका नेपालीहरूले यस्ता कार्यक्रममार्फत नेपालको प्राचीन परम्परा संरक्षण गरिरहेकोमा खुसी व्यक्त गर्दै यसले नेपाली समुदायबीच आपसी सम्बन्ध सुदृढ बनाउन महत्वपूर्ण भूमिका खेल्ने बताइन्।

कार्यक्रममा अन्तर्राष्ट्रिय बाग्लुङ समाजका अध्यक्ष तथा संस्थाका संरक्षक गंगा शर्मा ले बाग्लुङ जिल्लाको धार्मिक, पौराणिक तथा प्राकृतिक महत्व उल्लेख गर्दै प्रवासमा रहेका जिल्लावासीहरूले जिल्लाको विकासका लागि एकजुट हुनुपर्ने धारणा राखे।

समाजका अध्यक्ष हरी रोका को सभापतित्वमा सम्पन्न कार्यक्रममा उनले नेपाली कला, संस्कृति, मौलिक चाडपर्व तथा परम्पराको संरक्षण र पुस्तान्तरण गर्ने उद्देश्यले हरेक वर्ष चैते दशैं मेला आयोजना गरिँदै आएको जानकारी दिए। यस्ता कार्यक्रमले सामाजिक सद्भाव र एकता मजबुत बनाउन सहयोग पुग्ने उनले बताए।

कार्यक्रमका अवसरमा बाग्लुङमा सञ्चालन भइरहेको मानव सेवा आश्रम को भवन निर्माणका लागि सहयोग गर्ने दाता, साथै कलाकार तथा लोकदोहोरी गायक रविन लामिछाने र गायिका डिला विक लाई सम्मान गरिएको थियो।

मेलामा साना कलाकारहरूले बाल तथा समूह नृत्य प्रस्तुत गरेका थिए भने औपचारिक कार्यक्रमपछि आयोजित सांस्कृतिक कार्यक्रममा आमन्त्रित कलाकारहरूले एकल तथा दोहोरी गीत प्रस्तुत गर्दै दर्शकलाई मनोरञ्जन प्रदान गरेका थिए।

कार्यक्रममा बेल्जियमस्थित विभिन्न नेपाली सामाजिक संस्थाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।