Dhulikhel Eco Banner new

राष्ट्र बैंकको नयाँ भवनको आन्तरिक सजावटका लागि १२ करोडको ठेक्का स्वीकृत

1.12K
shares

काठमाडौं, २१ वैशाख । नेपाल राष्ट्र बैंकको नवनिर्मित केन्द्रीय कार्यालय भवनमा आन्तरिक सजावट ९इन्टेरियर फर्निसिङ० तथा फिनिसिङ कार्यका लागि ठेक्का प्रक्रिया टुंगिएको छ।

राष्ट्र बैंकको सम्पत्ति तथा सेवा व्यवस्थापन विभागले ‘आकृति–एसियन नेपाल जेभी’ लाई उक्त कार्यका लागि छनोट गर्दै बोलपत्र स्वीकृत गर्ने आशयको सूचना प्रकाशित गरेको हो। सूचनाअनुसार, कम्पनीले कुल ११ करोड ९७ लाख ८६ हजार ११ रुपैयाँ १० पैसा (भ्याटसहित) मा काम सम्पन्न गर्ने गरी ठेक्का पाएको छ।

राष्ट्र बैंकले २०८२ पुस १६ गते विद्युतीय खरिद प्रणालीमार्फत बोलपत्र आह्वान गरेको थियो। प्राप्त बोलपत्रहरूमध्ये न्यूनतम मूल्यांकन र प्राविधिक रूपमा उपयुक्त ठहरिएपछि सार्वजनिक खरिद ऐन २०६३ को दफा २७ अनुसार उक्त जेभीलाई छनोट गरिएको जनाइएको छ।

छनोट भएको संयुक्त उपक्रममा आकृति इन्टरनेशनल प्रा.लि. लिड पार्टनर तथा एसियन नेपाल इन्टेरियर प्रा.लि. सहायक पार्टनरका रूपमा रहेका छन्।

ठेक्का सम्झौता सम्पन्न भएपछि भवनको इन्टेरियर सजावट तथा फर्निसिङ कार्य अघि बढाइने राष्ट्र बैंकले जनाएको छ।
२०७२ सालको भूकम्पपछि क्षतिग्रस्त बनेको भवन पुनर्निर्माण गरी शहरी विकास तथा भवन निर्माण विभाग ले करिब दुई वर्षअघि नै हस्तान्तरण गरेको थियो।

भवन हस्तान्तरण भए पनि आन्तरिक सजावटको काम ढिलाइ हुँदा गभर्नर तथा डेपुटी गभर्नरका कार्यालयहरू अझै नयाँ भवनमा सर्न सकेका छैनन्। हाल राष्ट्र बैंकका विभिन्न विभागहरू भने मुख्य कार्यालय परिसरका अन्य भवनमा स्थानान्तरण भइसकेका छन्।