कम तौलको सनफ्लावर तेल बिक्री गर्ने विजय श्रेष्ठ पक्राउ
वि.सं.२०८३ वैशाख २५ शुक्रवार १०:५४
shares

काठमाडौं, २५ वैशाख । मापदण्डभन्दा कम तौल भएको सनफ्लावर तेल उत्पादन तथा बिक्री वितरण गरेको आरोपमा प्रहरीले ललितपुरका विजय श्रेष्ठलाई पक्राउ गरेको छ।
प्रहरीका अनुसार गोदावरी नगरपालिका–लेलेस्थित महादेव खोलामा सञ्चालित ओमकार आयल इन्डस्ट्रिज प्रालिबाट उत्पादन हुने ‘छहारी’ र ‘ओमकार’ ब्रान्डका एक लिटर तथा ५०० मिलिलिटरका सनफ्लावर तेलमा तोकिएको मापदण्डभन्दा कम तौल राखी प्याकेजिङ गरी बजारमा बिक्री वितरण गरिएको खुलेको हो।
प्रहरीले विभिन्न स्थानमा छापा मारेर ठूलो परिमाणमा तेल बरामद गरेको जनाएको छ। महादेवस्थानबाट २०० कार्टुन छहारी ब्रान्डको सनफ्लावर तेल, इमाडोलबाट ५३० कार्टुन छहारी ब्रान्डको तेल तथा थसिखेलबाट १७५ कार्टुन छहारी–ओमकार ब्रान्डको सनफ्लावर तेल बरामद गरिएको प्रहरीले जनाएको छ।
प्रहरीले श्रेष्ठलाई नियन्त्रणमा लिई उनले भण्डारण गरेका विभिन्न स्थानबाट तेलका कार्टुनहरू समेत बरामद गरेको छ। घटनाबारे ठगीसम्बन्धी कसुरमा अनुसन्धान तथा आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी परिसर ललितपुर पठाइएको प्रहरीले जनाएको छ।















