ट्राफिक कारबाहीमा ८ लाख ८९ हजार राजस्व सङ्कलन
वि.सं.२०८३ जेठ ४ सोमवार १२:४३
shares

काठमाडौं, ४ जेठ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय ले पछिल्लो २४ घण्टामा ट्राफिक नियम उल्लङ्घन गर्ने १ हजार ९६२ जना चालकलाई कारबाही गरेको जनाएको छ । उक्त कारबाहीबाट करिब ८ लाख ८९ हजार रुपैयाँ राजस्व संकलन भएको प्रहरीले जनाएको हो ।
कारबाहीमा परेकामध्ये सबैभन्दा धेरै ९०५ जना सामान्य ट्राफिक नियम उल्लङ्घन गर्ने चालक रहेका छन् । त्यसैगरी मादक पदार्थ सेवन गरेर सवारी चलाउने १०२ जना, राइड सेयरिङ नियम उल्लङ्घन गर्ने १४७ जना तथा रातो बत्ती उल्लङ्घन गर्ने २११ जनालाई कारबाही गरिएको छ ।
त्यस्तै तीव्र गतिमा सवारी चलाउने १९७, लेन मिच्ने ५३, फुटपाथ अतिक्रमण गर्ने ८८, ‘नो हर्न’ क्षेत्र उल्लङ्घन गर्ने ११६ तथा एकतर्फी सडकमा सवारी प्रवेश गराउने १४३ जना चालक पनि कारबाहीमा परेका छन् ।
ट्राफिक प्रहरीका अनुसार बढ्दो सवारी चाप, अव्यवस्थित पार्किङ तथा नियमको बेवास्ताले दुर्घटनाको जोखिम बढ्दै गएको छ । यही अवस्थालाई नियन्त्रणमा लिन नियमित चेकिङसँगै विशेष अभियान सञ्चालन गरिएको जनाएको छ ।
प्रहरी उपरीक्षक नरेशराज सुवेदी ले ट्राफिक कारबाहीको उद्देश्य राजस्व उठाउनु मात्र नभई सडक सुरक्षामा सुधार ल्याउनु रहेको बताए । उनका अनुसार मापसे, तीव्र गति, मोबाइल प्रयोग गर्दै सवारी चलाउने तथा ट्राफिक सिग्नल उल्लङ्घन गर्ने गतिविधि दुर्घटनाका मुख्य कारण बनेकाले निगरानी थप कडा बनाइएको हो ।
ट्राफिक प्रहरीले चालकहरूलाई हेल्मेट र सिटबेल्ट अनिवार्य प्रयोग गर्न तथा ट्राफिक संकेतको पालना गर्न आग्रह गर्दै आगामी दिनमा पनि विशेष ट्राफिक चेकिङ अभियानलाई निरन्तरता दिइने जनाएको छ ।
















