Dhulikhel Eco Banner new

कालंगा हाइड्रोको आईपीओ सर्वसाधारणका लागि खुला, आजदेखि आवेदन दिन सकिने

715
shares

कालंगा हाइड्रो लिमिटेड ले सर्वसाधारण लगानीकर्ताका लागि आजदेखि प्राथमिक शेयर निष्काशन खुला गरेको छ। कम्पनीले यसअघि आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि छुट्याइएको शेयर बाँडफाँट सम्पन्न गरेपछि अब सर्वसाधारणमा आईपीओ बिक्री सुरु गरेको हो।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ दरका २८ लाख ७० हजार कित्ता साधारण शेयर सार्वजनिक निष्काशनमा ल्याएको जनाएको छ। लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम २० हजार कित्तासम्म आवेदन दिन सक्ने व्यवस्था गरिएको छ।

निष्काशन छिटोमा जेठ १३ गते बन्द हुनेछ भने पूर्ण आवेदन नपरेमा जेठ २२ गतेसम्म खुला रहनेछ। कम्पनीले यसअघि स्थानीय बासिन्दा, वैदेशिक रोजगारीमा रहेका नेपाली, सामूहिक लगानी कोष तथा कर्मचारीका लागि छुट्याइएको शेयर वितरण गरिसकेको छ।

१५.३३ मेगावाट क्षमताको कालंगागाड जलविद्युत आयोजना सञ्चालन गरिरहेको कम्पनीले १ अर्ब ४० करोड रुपैयाँ जारी पूँजीको ३५ प्रतिशत शेयर सर्वसाधारणमा निष्काशन गर्न अनुमति पाएको थियो। कम्पनीका अनुसार आयोजनाबाट २०७९ माघदेखि व्यावसायिक विद्युत उत्पादन भइरहेको छ।

आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था तथा ‘मेरो सेयर’ प्रणालीमार्फत आवेदन दिन सक्नेछन्।