Dhulikhel Eco Banner new

निर्यातमा सुधार भए पनि व्यापार घाटामा, ८ महिनामै १० खर्ब ९८ अर्ब नाघ्यो घाटा

2.91K
shares

काठमाडौं, १३ जेठ । चालु आर्थिक वर्षको फागुन मसान्तसम्म नेपालको वैदेशिक व्यापारमा सुधार देखिए पनि व्यापार घाटा अझै प्रमुख चुनौतीकै रूपमा कायम रहेको छ। आर्थिक सर्वेक्षण २०८२र०८३ अनुसार निर्यात र आयात दुवैमा वृद्धि भए पनि आयातको उच्च दरका कारण घाटा झन् फराकिलो बनेको हो।

सर्वेक्षणअनुसार यस अवधिमा नेपालको कुल वैदेशिक व्यापार १३.५ प्रतिशतले वृद्धि भई १४ खर्ब ८० अर्ब ३६ करोड रुपैयाँ पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यो व्यापार १५.३ प्रतिशतले वृद्धि भई १३ खर्ब ३ अर्ब ७४ करोड रुपैयाँ रहेको थियो।

निर्याततर्फ सकारात्मक वृद्धि देखिएको छ। कुल वस्तु निर्यात २०.८ प्रतिशतले बढेर १ खर्ब ९१ अर्ब ११ करोड रुपैयाँ पुगेको छ। यससँगै कुल व्यापारमा निर्यातको हिस्सा १२।१ प्रतिशतबाट बढेर १२.९ प्रतिशत पुगेको छ। निर्यातमा विशेषगरी भटमासको तेल, अलैंची, पाम तेल, जुट र चाउचाउको योगदान उल्लेखनीय रहेको छ। तर चिया, ऊनी गलैंचा र हस्तकला सामग्रीको निर्यात भने घटेको देखिएको छ।

आयाततर्फ पनि उल्लेख्य वृद्धि भएको छ। यस अवधिमा आयात १२।५ प्रतिशतले बढेर १२ खर्ब ८९ अर्ब २५ करोड रुपैयाँ पुगेको छ। नेपालले मुख्य रूपमा भटमासको कच्चा तेल, रासायनिक मल, चाँदी तथा सवारी साधन र तिनका पार्टपुर्जा आयात गरिरहेको तथ्याङ्कमा उल्लेख छ।

आयातको तुलनामा निर्यात कमजोर रहँदा व्यापार घाटा ११.२ प्रतिशतले बढेर १० खर्ब ९८ अर्ब १४ करोड रुपैयाँ पुगेको छ। यसले नेपालको अर्थतन्त्र अझै पनि आयातमुखी संरचनामै निर्भर रहेको संकेत गरेको छ।

निर्यात–आयात अनुपात १४.८ प्रतिशत पुगेको छ, जुन अघिल्लो वर्ष १३.८ प्रतिशत थियो। यसले निर्यातमा सुधार भए पनि आयातको दबाब अझै उच्च रहेको देखाएको छ।